पाल्पा सिमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने
१२ फागुन, काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आज (फागुन १२ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये जारी पूँजीको १८ लाख ७५ हजार कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो। त्यस्तै, कम्पनीले २ लाख ८१ हजार २५० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुका लागि र २ लाख ८१ हजार २५० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँट गरेको छ।
अब भने कम्पनीले बाँकी रहेको ४५ करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा फागुन १५ गते हुनेछ भने ढिलोमा फागुन २६ गते हुनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। त्यसैगरी, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार ०९:०९










