१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

छुट्ला है ! सुपर खुदी हाइड्रोपावरको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन

१० फागुन, काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने भोलि फागुन ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले
फागुन ५ गतेबाट निष्काशन गरेको आइपीओमा भोलिसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँडपश्चात सर्वसाधारण लगानीकर्ताहरुका लागि आइपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र १ लाख ५५ हजार कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ । त्यस्तै, कम्पनीले ७७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ ।

कम्पनीले दोस्रो चरणमा आफ्ना कर्मचारीहरुका लागि ३१ हजार कित्ता छुट्याई बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा फागुन ११ गते हुनेछ भने ढिलोमा फागुन २० गते हुनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १७:४५