१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

भोलिबाट एपोलो हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै, क-कसले किन्न पाउँछन् ?

१० फागुन, काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले भोलि फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले भोलिदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीलाई जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको कुल १४ लाख १० हजार कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डलेअनुमति दिएको छ। जसमध्ये प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र ९४ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्काशन गर्न लागेको हो।

आयोजना प्रभावितका लागि निष्काशन गरेको सेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता सेयरमा उच्च प्रभावित क्षेत्र – ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता सेयरमा मध्यम प्रभावित क्षेत्र – सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन् भने २० प्रतिशत अर्थात ९४ हजार कित्ता सेयरमा न्यून प्रभावित क्षेत्र – रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

स्थानीयले आईपीओमा न्यूनतम १० कित्ता र  बढीमा ४७ हजार कित्ताका लागि तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले बढीमा ९४ हजार कित्ताका लागि दिन सक्नेछन्। आयोजना प्रभावितका लागि खुला गरिएको आईपीओ छिटोमा फागुन १५ र ढिलोमा चैत १० गते बन्द हुनेछ भने वैदेशिकका लागि आईपीओ बन्द छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गते बन्द हुनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

आयोजना प्रभावितले एपोलो हाइड्रोपावरको आयोजना कार्यालय, ओखलढुङ्गा, लक्ष्मी सनराइज बैंकको किन्जा (सोलुखुम्बु), शिवालय र प्रिति (रामेछाप) शाखा कार्यालयबाट र नेपाल इन्भेष्टमेन्ट बैंकको खिजीदेम्वा (ओखलढुङ्गा), सिटिजन्स बैंकको लिखुपिके (सोलुखुम्बु) शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १४:०२