३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

चैत २ गतेदेखि ग्लोबल मनी विक मनाउँदै राष्ट्र बैंक

८ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी मार्च १६ देखि २२ (२०८२ चैत २ देखि ८) सम्म ग्लोबल मनी विक मनाउने भएकाे छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै स्मार्ट मनी टक्स भन्ने नाराका साथ ग्लोबल मनी विकको चौधौं शृङ्खला मनाउन लागिएको जानकारी गराएको हो ।

बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेशन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओइसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको छ । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ७ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।

नेपालमा यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै ग्लोबल मनी विक मनाइँदैछ । वित्तीय शिक्षा, सचेतना र सीप विकासमार्फत जिम्मेवार आर्थिक व्यवहारको प्रवर्द्धन गर्ने लक्ष्यसहित यो कार्यक्रम देशभर विभिन्न गतिविधिसहित सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ।

यो कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाहरूको सक्रिय सहभागिता रहने केन्द्रीय बैंकले बताएको छ । यसको अतिरिक्त अन्य संघसंस्था र सरोकारवाला निकायहरू पनि यस अभियानमा आबद्ध हुनसक्ने भएकोले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण संघसंस्था र निकायहरूलाई यस अभियानमा सहभागी भई ग्लोबल मनी विक भव्य रूपमा मनाउनका आह्वान गरेको छ ।

प्रकाशित मिति : 14:26