६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

प्रत्येक नेपालीलाई सम्मानित भएर बाँच्न पाउने बनाउनेछौं : गगन थापा

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरेक नेपालीलाई सम्मानित भएर बाँच्न पाउने‍ गरी देश निर्माण नै अबको भिजन भएको बताउनुभएको छ । बुधबार जनकपुरधाममा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताउनुभएको हो ।

थापाले भन्नुभयो, ‘प्रत्येक नेपाली सम्मानित भएर बाँच्न पाउने बनाउनेछौँ । प्रत्येक नेपालीले सपना देख्न पाउने र आफ्नो जीवनकालमा साकार हुनसक्ने बनाउनेछौँ । नेपाललाई पेटभरि खुवाउने र आफ्नो उत्पादनलाई संसारभरी चिनाउनसक्ने किसानको नेपालमा बनाउनेछौँ।’

उहाँले मिटरब्याज, लघुवित्त र सहकारीको समस्या समाधान गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘सहकारीका ठगहरूलाई तह लगाउने मात्रै होइन, मिटर ब्याज र लघुवित्तका ठगहरूलाई तह लगाउने मात्रै होइन, हामी मधेशमा वैकल्पिक वित्तीय संरचना निर्माण गर्न चाहन्छौँ।’

साथै, सभापति थापाले मधेस ज्ञानको केन्द्र रहेको बताउँदै पहिले मधेसबाट गणित र विज्ञानका शिक्षक पहाड र हिमालमा गएर शिक्षाको ज्योति फैलाएको उल्लेख गर्नुभयो ।

अहिले मधेश शिक्षामा कमजोर देखिएको भन्दै अब मधेसलाई ज्ञानको केन्द्र बनाउनुपर्ने उनको भनाइ थियो। ‘मधेसलाई ज्ञानको केन्द्र बनाउन आएका छौँ,’ थापाले भने।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार १७:५२