गर्मीले कफी उत्पादनमा असर
६ फागुन, पेरिस । जलवायु परिवर्तनका कारण विश्वका प्रमुख कफी उत्पादन गर्ने देशहरूमा हरेक वर्ष असामान्य रूपमा बढेको अत्यधिक गर्मीका दिनहरूले कफी खेतीमा गम्भीर असर पारेको वैज्ञानिकहरूले बताएका छन् । यसले उत्पादन घटाउने मात्र नभई, अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिमा समेत योगदान पुर्याइरहेको उनीहरूको निष्कर्ष छ ।
स्वतन्त्र अनुसन्धान संस्था क्लाइमेट सेन्ट्रलले सार्वजनिक गरेको विश्लेषणअनुसार सन् २०२१ देखि २०२५ सम्म विश्वका २५ प्रमुख कफी उत्पादक देशहरूले प्रतिवर्ष औसत ४७ दिन अतिरिक्त हानिकारक गर्मी अनुभव गरेका छन् । ती दिनहरूमा तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । यो तापक्रम कफी बिरुवाका लागि जोखिमपूर्ण मानिन्छ ।
विश्वको करिब ७५ प्रतिशत कफी उत्पादन गर्ने ब्राजिल, भियतनाम, कोलम्बिया, इथियोपिया र इन्डोनेसियामा औसत ५७ दिनसम्म ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड गरिएको छ । क्लाइमेट सेन्ट्रलका विज्ञान उपाध्यक्ष क्रिस्टिना डाहलले जलवायु परिवर्तनले कफी खेतीलाई प्रत्यक्ष रूपमा चुनौती दिइरहेको बताउनुभयो । उहाँका अनुसार प्रायः सबै प्रमुख कफी उत्पादक देशहरूमा अहिले लामो समयसम्म चरम गर्मी देखिन थालेको छ, जसले बिरुवालाई क्षति पुर्याउने, उत्पादन घटाउने र गुणस्तरमा असर पार्ने सम्भावना बढाएको छ ।
उहाँले समयसँगै यसको प्रभाव खेतबाट उपभोक्तासम्म पुग्ने र दैनिक कफीको स्वाद तथा मूल्य दुवैमा असर देखिने उल्लेख गर्नुभयो । संयुक्त राज्य अमेरिकामा खपत हुने कफीको करिब एक तिहाइ ब्राजिलबाट आयात हुने भएकाले त्यहाँ लगाइएका आयात शुल्कले गत वर्ष मूल्य वृद्धिमा भूमिका खेलेको संस्थाले जनाएको छ । तथापि, पछिल्ला वर्षहरूमा कफी उत्पादन क्षेत्रमा देखिएको चरम मौसम पनि मूल्य वृद्धिको प्रमुख कारणमध्ये एक रहेको बताइएको छ ।
कफी खेती सफल हुनका लागि उपयुक्त तापक्रम र वर्षा आवश्यक हुन्छ । क्लाइमेट सेन्ट्रलका अनुसार ३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम अरेबिका प्रजातिका लागि अत्यन्त हानिकारक र रोबस्टा प्रजातिका लागि पनि उपयुक्त हुँदैन । यी दुई प्रजातिले विश्वव्यापी कफी आपूर्तिको अधिकांश हिस्सा ओगटेका छन् ।
अध्ययनका क्रममा अनुसन्धानकर्ताहरूले कार्बन प्रदूषण नभएको अवस्थामा ३० डिग्री सेल्सियसभन्दा तल रहने अनुमानित दिनहरूको तुलना वास्तविक तथ्याङ्कसँग गरेका थिए । त्यस क्रममा जलवायु परिवर्तनका कारण थपिएका तातो दिनहरूको सङ्ख्या पहिचान गरिएको हो । जलवायु पर्यवेक्षकहरूका अनुसार पछिल्ला तीन वर्ष विश्व इतिहासकै सबैभन्दा तातो वर्षका रूपमा दर्ज भएका छन् । यसको प्रभाव कृषि क्षेत्रमा स्पष्ट रूपमा देखिन थालेको छ ।
प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार १५:३१










