६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति शर्माले छोडिन् पार्टी

६ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गर्नुभएकाे छ । हाल पार्टीको केन्द्रीय महिला  तथा समाजिक विकास विभागकी सदस्यसमेत रहनुभएको उहाँले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएकाे हाे ।

विज्ञप्ति जारी गर्दै उहाँले पार्टीमा इमानदार व्यक्तिहरुको मूल्यांकन नभएको र आर्थिक अनियमितता भएको आरोप लगाउँदै पार्टीमा बस्न नसकेको बताउनुभएकाे छ ।

‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आबद्ध भएकी थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको अनुभव गरेकी छु’, उहाँले राजीनामा पत्रमा भन्नुभएकाे छ ।

शर्माले भन्नुभएकाे छ, ‘आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मुल्यहरु माथि आँच आउने परिस्थिति बनेको छ । यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु । त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजिनामा पेश गर्दछु ।’

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार १०:२२