ज्योति विकास बैंकले बोलायो साधारण सभा, यी प्रस्ताव पारित हुँदै
६ फागुन, काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । फागुन ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले यही फागुन २८ गते काठमाडौंको नक्सालमा रहेको लिसारा रिसेप्सनमा १८ औं वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव पेश हुनेछैन । साथै, सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने, बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको पनि गत आवको वित्तीय विवरणहरु पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले फागुन १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीको सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : 09:38









