होटल इस्टर्नले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
५ फागुन, काठमाडौं । एनआईसी एशिया क्यापिटल र होटल इस्टर्न नेपाल लिमिटेडबीच प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आईडिया टू आईपीओ’ सेवा अन्तर्गत होटल इस्टर्न नेपाललाई सार्वजनिक कम्पनीमा रूपान्तरण गरी आईपीओ निष्कासनसम्म आवश्यक सम्पूर्ण वित्तीय तथा परामर्श सेवा प्रदान गर्नेछ ।
झापाको मेचीनगर नगरपालिका–१०, धुलाबारीमा निर्माणाधीन होटल इस्टर्न नेपाल लिमिटेड अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल हो । उक्त होटल ‘होलिडे इन एक्सप्रेस एन्ड सुइट्स’ ब्रान्डअन्तर्गत सञ्चालनमा आउनेछ । होटल व्यवस्थापनका लागि कम्पनीले अन्तर्राष्ट्रिय होटल समूहसँग सम्झौता गरिसकेको जनाएको छ ।
निर्माणको अन्तिम चरणमा पुगेको होटल चालु आर्थिक वर्ष २०८२/८३ भित्र सफ्ट ओपनिङ गर्ने लक्ष्य राखिएको छ । होटल सञ्चालनमा आएपछि क्यासिनो, उच्चस्तरीय गेमिङ तथा मनोरञ्जन सेवा, रूफटप स्विमिङ पुल, आधुनिक तथा सुविधासम्पन्न कोठा तथा सुइट, बैंक्वेट हल, बहुउद्देश्यीय रेस्टुरेन्ट, रूफटप रेस्टुरेन्ट, ज्याकुजी, स्पा, हेल्थ क्लब, इन–हाउस लन्ड्री तथा व्यावसायिक हाउसकिपिङ सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
होटल भारत–नेपाल सीमाबाट करिब ७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट करिब २७ किलोमिटर दूरीमा अवस्थित रहेको छ । सीमावर्ती क्षेत्रमा अवस्थित भएकाले भारतीय पर्यटकलाई लक्षित सेवा प्रवाह गर्ने कम्पनीको रणनीति रहेको छ । होटल इस्टर्न नेपाल सञ्चालनमा आएपछि पूर्वी नेपाल मात्र नभई समग्र नेपाली पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
एनआईसी एशिया क्यापिटलले ‘आईडिया टू आईपीओ’ सेवामार्फत निजी कम्पनीलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गर्ने, सेयर निष्कासन प्रक्रिया अघि बढाउने तथा पूँजी बजारमा प्रवेश गराउने उद्देश्यसहित परामर्श सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार १०:४१










