५ फाल्गुन २०८२, मंगलवार | Tue Feb 17 2026

भर्ने होइन त ? फागुन १७ गतेदेखि आईपीओ निष्काशन गर्दै शिखर पावर डेभलपमेन्ट

५ फागुन, काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ९ लाख ८० हजार कित्ता साधारण शेयर वातावरणी प्रभाव मूल्याङ्कन प्रतिवेदनमा भएको विवरण तथा विद्युत उत्पादन अनुमतिपत्रको आधारमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि, २ लाख २२ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि र १ लाख ११ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

अब भने कम्पनीले कर्मचारीहरुका लागि ४४ हजार ४०० कित्ता छुट्याई बाँकी रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ कराेड ४२ लाख ६० हजार रुपैयाँबराबरको १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा फागुन २२ गते र  ढिलोमा चैत १ गते हुनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार ०९:१७