४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

९ अर्ब ३५ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

४ फागुन, काठमाडौं। नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ९ अर्ब ३५ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएकाे छ ।

राष्ट्र बैंकले २०२६ फेब्रुअरी २४ देखि २०२७ फेब्रुअरी २४ सम्म ३६६ दिनका लागि उक्त रकम मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो। ‘क’ वर्गका वाणिज्य बैंकमा ७ अर्ब ४८ करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १ अर्ब ४० करोड २५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ४६ करोड ७५ लाख रुपैयाँ लगानी गर्न लागिएकाे राष्ट्र बैंकले जनाएकाे छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएको फारम भरी २०८२ फागुन ८ गते साँझ ७ बजेसम्म इमेलमार्फत प्रस्ताव पठाउनुपर्नेछ।

प्रस्ताव पेश गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्था कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको, न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा अनुपात ८ प्रतिशतभन्दा नबढेको, खुद नाफामा रहेको तथा समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने शर्त राखिएको छ। साथै सर्वसाधारणका लागि सेयर जारी गरिसकेको हुनुपर्ने प्रावधान पनि छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार ११:४६