देशमा संकट आइपर्न थाले निकास दिने पार्टी हो एमाले, ‘सलल सलल’ (भिडियोसहित)
३ फागुन, काठमाडाैँ । वरिष्ठ लोकदोहोरी गायक बैकुण्ठ महतले नेकपा (एमाले) का लागि तयार पारिएको नयाँ चुनावी गीत सार्वजनिक गर्नुभएको छ । फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै निर्माण गरिएको ‘सलल सलल’ बोलको गीत आइतबार राति उहाँकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

विगतका विभिन्न निर्वाचनमा पनि एमालेका लागि लोकप्रिय चुनावी गीत सिर्जना गर्दै आउनुभएका महतले यसपटक पनि पार्टीको राजनीतिक सन्देशलाई सांगीतिक माध्यमबाट प्रस्तुत गर्नुभएको छ । गीतमा व्यक्तिपूजाभन्दा बढी पार्टीको नीति, योगदान र संकटको समयमा निकास दिन सक्ने शक्ति एमाले नै हो भन्ने सन्देशलाई जोड दिइएको छ । गीतले देशमा संकट आइपर्न थाले निकास दिने पार्टी हो एमाले भन्ने सन्देश बाँड्न खोजेको छ ।
‘सलल सलल’ गीतमा बैकुण्ठ महतसँगै बाबुराम पन्थी र प्रिया भण्डारीले स्वर दिनुभएको छ । गीतको शब्द र संगीत स्वयं महतकै रहेको छ भने संगीत संयोजन रमेश सेन्चुरीले गर्नुभएको छ । मिक्सिङ तथा मास्टरिङ कृष्ण बाजुरालीले गर्नुभएको छ भने रेकर्डिङ सुरज भुसाल मार्फत ‘द म्युजिक एरा’ स्टुडियोमा गरिएको छ ।

अडियो तथा भिडियो निर्माण वरदान डिजिटल प्रालिलले गरेको छ । भिडियो निर्देशन मदन खड्काले गर्नुभएको छ । भिडियोमा अस्मिता रानापाल, दिपा रानापाल, सोनाम लामा र सन्जु नेगीको अभिनय रहेको छ । छायांकन वीरेन्द्र भट्टले गर्नुभएको छ भने सम्पादन तथा रङ संयोजन अनिल रानाले गर्नुभएको छ ।
महतले विगतमा जस्तै यसपटक पनि सांगीतिक शैलीमार्फत राजनीतिक सन्देशलाई जनतामाझ पुर्याउने प्रयास गर्नुभएको छ । निर्वाचन नजिकिँदै जाँदा सार्वजनिक गरिएको यो गीतले एमाले समर्थक तथा कार्यकर्तामाझ उत्साह थप्ने अपेक्षा गरिएको छ । महतकै कारण २०७४ साल यताका निर्वाचनमा एमालेको प्रचार पुरै संगीतमय हुँदै आएको छ ।
गीत तलको भिडियोमा हेर्न र सुन्न सक्नुहुन्छ ।
प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार २०:४१










