जीवन बीमा कम्पनीहरूको सोल्भेन्सी मार्जिन घट्यो
३ फागुन, काठमाडाैं ।चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्म आइपुग्दा नेपालका जीवन बीमा कम्पनीहरूको वित्तीय स्वास्थ्यमा दबाब बढेको संकेत देखिएको छ। जीवन बीमा कम्पनीहरूको जोखिम वहन क्षमता मापन गर्ने महत्वपूर्ण सूचक सोल्भेन्सी मार्जिन अनुपात समग्र घटेको तथ्यांकले देखाएको हो।
गत आर्थिक वर्षको सोही अवधिमा औसत २.२८ रहेको सोल्भेन्सी मार्जिन चालु वर्षको दोस्रो त्रैमासिकमा घटेर १.७१ मा सीमित भएको छ। यसले अझै नियामकीय सीमा वरिपरि सुरक्षित भए पनि जोखिम वहन क्षमता कमजोर बन्दै गएको संकेत दिएको बीमा क्षेत्रका जानकारहरू बताउँछन्।
समीक्षा अवधिमा आइएमई लाइफ इन्स्योरेन्सको सोल्भेन्सी रेसियो सबैभन्दा बढी रहेको छ । कम्पनीको सोल्भेन्सी मार्जिन २.५९ रहेको छ। त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सोल्भेन्सी रेसियो २.५४ रहेको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको सोल्भेन्सी रेसियो २.४३ रहेको छ ।
त्यस्तै मेट लाइफ नेपाल इन्स्योरेन्सको को सोल्भेन्सी रेसियो २.०८ रहेको छ । यी कम्पनीहरू नियामकले तोकेको न्यूनतम सीमाभन्दा धेरै माथि रहँदा पूँजी पर्याप्तता राम्रो रहेको संकेत मानिएको छ। विशेषज्ञहरूका अनुसार यस्ता कम्पनीहरूले जोखिम व्यवस्थापन, लगानी विविधीकरण र दाबी व्यवस्थापन राम्रोसँग गर्दा उच्च सोल्भेन्सी कायम गर्न सफल भएका हुन्।
समीक्षा अवधिमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सोल्भेन्सी मार्जिन १.९१ रहेको छ । साथै सिटिजन लाइफ इन्स्योरेन्सको १.७३ रहेको छ भने नेशनल लाइफ इन्स्योरेन्सको १.६६ र सुर्यज्योति लाइफको सोल्भेन्सी रेसियो १.६५ मा झरेको छ । एलआइसी नेपालको सोल्भन्सी रेसियो अनुपात १.६१ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको १.५७ रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियोमा गत वर्ष र यस वर्षमा कुनै फरक परेको छैन । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको सोल्भेन्सी रेसियो १.५४ रहेको छ । एशियन लाइफ इन्स्योरेन्सको सोल्भेन्सी रेसियो २.२१ बाट १.३३ मा झरेको छ । हिमालयन लाइफ इन्स्योरेन्सको सोल्भेन्सी रेसियो अनुपात ३.७४ बाट १.३२ मा झरेको छ ।
प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार १५:१०










