१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले

१ फागुन, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले जनताको नजिक रहेर जनता केन्द्रित काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भानु नगरपालिका–५ नागनगिनीमा आज आयोजित मतदातासँग भेटघाट कार्यक्रममा उहाँले आफू जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको बताउनुभयो ।

उपनिर्वाचनबाट विजयी भएपश्चात् जनताको नजिक रहेर काम गरिरहेको बताउँदै वाग्लेले सङ्घीय सांसदको काम ऐन, नियम बनाउनुपर्ने भएकाले काठमाडौँ बसाइँलाई अन्य दृष्टिकोणले नहेर्न आग्रह गर्नुभयो ।

“सङ्घ, प्रदेश र स्थानीय तहमा हाम्रो सरकार थिएन, त्यसैले केही गर्न सकेनौँ । सङ्घीय सांसदको मुख्य काम ऐननियम बनाउनु हो । कामका लागि राजधानी बसे पनि जनहित मेरो पहिलो प्राथमिकता हो”, डा वाग्लेले भन्नुभयो । उहाँले आगामी निर्वाचन र पार्टीको कार्यक्रमअनुसार जनताको आकाङ्क्षा पूरा गर्न प्रयास गर्ने प्रतिबद्धता गर्नुभयो ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १८:२४