१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो होः अर्थमन्त्री खनाल

१ फागुन, काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण सार्वजनिक भए राम्र्रो हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ र राष्ट्रिय सूचना आयोगको आज सयुक्त रूपमा आयोजना गरेको ‘मिडियामा सूचनाको हकको प्रयोगः अभ्यास र चुनौती’ विषयक अन्तरक्रियामा उहाँले बुझाएका सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो ।

“मन्त्रीहरूको सम्पत्ति विवरण लिने तर सार्वजनिक नगर्ने अभ्यास रैछ, तर सार्वजनिक गर्दा राम्रो हुन्छ”, उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्का निर्णयहरू सबै सार्वजनिक गर्ने गरेका छौँ ।”

सबैलाई समान अवसर प्राप्त हुनुपर्ने र पारदर्शी पनि हुनुपर्ने उल्लेख गर्दै उहाँले मुलुकको अर्थतन्त्र सही ढङ्गले अगाडि बढाउन पनि सही सूचनाको जरुरी हुने स्पष्ट पार्नुभयो । सूचनाको हक पत्रकारका लागि मात्र नभएर सबैका लागि भएको उल्लेख गर्दै मन्त्री खनालले थप्नुभयो, “पत्रकारले भन्दा पनि गैरपत्रकारले सूचनाको हक प्रयोग गरी सूचना लिएर दुरूपयोग गरेकासमेत पाइएको छ, सही सूचना नागरिकमा पुर्‍याउनसके मात्र नागरिक सूसुचित हुन्छन् ।”

अर्थमन्त्री खनालले मुलुकको अर्थतन्त्र सही ढङ्गले चल्न सही सूचना जरुरी हुने र व्यवसाय र आर्थिक काम गर्दा समान अधिकार दिन सूचना सार्वजनिक अनिवार्य भएको बताउनुभयो ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १७:५८