सुनसरी क्षेत्र नं ४ मा ३३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा
१ फागुन, सुनसरी । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नं ४ मा ३३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धा रहेका छन् ।
नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपालसहित स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसबाट पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमालेबाट जगदीशप्रसाद कुसियैत, नेकपाबाट महमद महफुज अन्सारी, रास्वपाबाट दीपककुमार साह, जसपाबाट सविता यादव, श्रम संस्कृति पार्टीबाट विष्णु राणा उम्मेदवार हुनुहुन्छ । कांग्रेसबाट उम्मेदवारी दिनुभएका कार्की यस क्षेत्रबाट दुई पटक निर्वाचित भइसक्नुभएको छ । उहाँले विकास, स्थिरता र आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाएर आफ्नो प्रचारप्रसार गरिरहनुभएको छ ।
विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ३२ हजार ३४७ मत प्राप्त गरी विजयी हुनुभएको कार्की २०७९ सालमा एमालेका उम्मेदवार कुसियैतलाई ११२ मत अन्तरसहित विजयी हुनुभएको थियो । “शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा पुल निर्माण, सप्तकोशी कटान नियन्त्रण, विपन्न समुदायको उत्थान तथा खेलकुद विकासमा योगदान दिँदै आएको छु । अधुरा काम सम्पन्न गर्न पनि म चुनावी मैदानमा होमिएको हुँ”, उहाँले भन्नुभयो ।
एमालेका उम्मेदवार कुसियैतले कोशी प्रदेश सरकारमा पूर्वमन्त्रीका रूपमा काम गरिसक्नुभएको छ । विद्यार्थी राजनीतिबाट कम्युनिष्ट आन्दोलनमा प्रवेश गर्नुभएका उहाँ आठ औँ पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
स्थानीय जनताका आवश्यकता सम्बोधन गर्न र देशमा सुशासन, समृद्ध राष्ट्र र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने संकल्पसहित आफू चुनावी प्रतिस्पर्धामा रहेको कुसियैतको भनाइ छ ।
कुसियैतले २०५१ सालको निर्वाचनमा नेपाली कांग्रेसका पूर्वसभापति गिरिराजप्रसाद कोइरालासँग प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँ २०५३ को उपनिर्वाचनमा र २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेकपाबाट उम्मेदवार रहनुभएका अन्सारीले भ्रष्टचारको अन्त्य र जेनजी युवाहरूको मागलाई सम्बोधन गर्न उम्मेदवारी दिएको बताउनुभयो ।
सुनसरीका प्रमुख निर्वाचन अधिकृत प्रकाश राउतका अनुसार निर्वाच क्षेत्र नं ४ मा ३४ जनाले उम्मेदवारी दिएका थिए । पछि एक जनाले उम्मेदवारी फिर्ता लिए । हाल कायम रहेका उम्मेदवारमध्ये १७ जना राजनीतिक दलका र १६ जना स्वतन्त्र उम्मेदवार रहेको उहाँले जानकारी दिनुभयो । तीमध्ये २९ जना पुरुष र पाँचजना महिला रहेका छन् । यस क्षेत्रमा उम्मेदवारी दिने उम्मेदवारको उमेर २६ वर्षदेखि ७२ वर्षसम्म रहेको राउतले बताउनुभयो ।
यहाँ स्वतन्त्र उम्मेदवार मो गुलाब अन्सारी कान्छा उम्मेदवार हुनुहुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमप्रसाद भट्टराई ज्येष्ठ उम्मेदवार हुनुहुन्छ ।उम्मेदवारले आफ्ना मुद्दामा सहमत गराउँदै मत तान्ने कसरत गरिरहेका छन् । मतदाताले भने स्थानीय आवश्यकता सम्बोधनको विश्वासिलो प्रतिबद्धता गर्ने उम्मेदवारलाई मतदात गर्ने मनस्थिति बनाएका छन् । सुनसरी निर्वाचन क्षेत्र नं ४ का युवा मतदाता सरोज मेहता भन्नुहुन्छ, “ग्रामीण विकास र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिनिधि चाहिएको छ । यसका साथै युवालाई रोजगारी, कृषिको आधुनिकीकरण गर्न सिँचाइ सुविधा, मल, बीउ तथा बजार व्यवस्थापनको समस्या समाधान गर्ने आधार दिनेलाई मात्र मत दिने सोच छ ।”
निर्वाचन क्षेत्र नं ४ मा एक लाख ३९ हजार ३३० मतदाता रहेका छन् । यहाँ ७३ हजार २९ पुरुष र ६६ हजार ३०१ महिला मतदाता छन् । यहाँ ४२ मतदानस्थल र १५० मतदान केन्द्र रहेको निर्वाचन कार्यलयले जनाएको छ ।
हाल घरदैलोमा व्यस्त उम्मेदवारलाई यही फागुन ४ गतेदेखि खुला रूपमा प्रचार गर्ने समय दिइएको छ । त्यसलाई मध्यनजर गरी निर्वाचनलाई भयरहित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन आवश्यक तयारी तीव्र पारिएको प्रमुख निर्वाचन अधिकृत राउतले बताउनुभयो ।
जिल्लाका चार वटा निर्वाचन क्षेत्रमा करिब तीन हजार ७४४ जना निर्वाचन कर्मचारी परिचालन हुने उहाँले जानकारी दिनुभयो । “मतदातालाई सुरक्षित वातावरणमा मतदानको व्यवस्था मिलाउन सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय भइरहेको छ । उम्मेदवारलाई निर्वाचन आचारसंहिताभित्र रहेर प्रचारप्रसार गर्न पनि आग्रह गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १६:५७










