३ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा, एकलाई तिरायो जरिवाना
१ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वाणिज्य बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अवधिमा नियम विपरित कार्य गर्ने तीन वटा वाणिज्य बैंकहरूलाई राष्ट्र बैंकले कारबाही गरेको हाे । एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक राष्ट्र बैंककाे कारबाहीमा परेका छन् ।
केन्द्रीय बैंकले नियम नमानेको भन्दै एनआईसी एशिया बैंकलाई जरिवाना तिराएको छ । बैंकले राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गर्दै आएको र यस बैंकबाट उक्त बैंकलाई जारी गरिएको लिखित आदेशको समेत पालना नभएको भन्दै राष्ट्र बैंकले कारबाही गरेको हो ।
केन्द्रीय बैंकले एनआईसी एशिया बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोश्रो संशोधन २०७३ सहित) को दफा १०० उपदफा २(ग) बमोजिम २/२ लाख नगद जरिवाना गराएको हो ।
त्यस्तै, ग्लोबल आइएमई बैंकका सीईओलाई भने केन्द्रीय बैंकले सचेत गराएको छ । २०८२ सालमा गरिएको स्थलगत निरीक्षणका क्रममा विभिन्न कैफियतहरू फेला परेपछि राष्ट्र बैंकले बैंकका सीईओलाई सचेत गराएको हाे ।
बैंकले कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) पर्याप्त मात्रामा नगरेको र कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचनासम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना नगरेको पाइएको जनाएकाे छ। साथै, बैंकको कोर बैंकिङ सफ्टवेयरमा चुक्ता भइसकेको कर्जालाई पुरानै मिति (भ्यालु डेट) राखी पुन: सिर्जना गर्न सकिने प्राविधिक कमजोरी समेत भेटिएको थियो ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले कर्जा सुरक्षासँग सम्बन्धित कागजातहरूमा ग्राहकको सहीछाप नगराएको र धितोले खामेको भन्दा बढी कर्जा प्रवाह गरेको पाइएको भन्दै सचेत गराएकाे छ ।
राष्ट्र बैंकका अनुसार बैंकले ब्याजदर अन्तर (स्प्रेड दर) २ प्रतिशत विन्दुभन्दा बढी कायम गरेको तथा त्रैमासको अन्तिम महिनाहरूमा नयाँ अल्पकालीन कर्जा प्रवाह गरी सो रकम पुरानो ऋण असुलीमा प्रयोग गरेको देखिएको छ । यी प्रावधानहरूको उल्लंघन गरेको पाइएपछि बैंकको सञ्चालक समिति र सीईओ दुवैलाई सचेत गराइएको जनाएकाे छ ।
प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १४:३६










