प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न सांसदहरुको माग
१ फागुन, काठमाडौँ । राष्ट्रियसभा सांसदहरुले यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आजको बैठकको शून्य समयमा सांसद शारदादेवी भट्टले निर्वाचनका लागि २० दिन मात्र बाँकी रहेको उल्लेख गर्नुहुँदै देशभर भयरहित, त्रासरहित, धाँधलीरहित रुपमा संयमतापूर्वक निर्वाचन सम्पन्न हुनुपर्ने बताउनुभयो । यसका लागि वातावरण बनाउन पनि उहाँले सदनमार्फत सरकारको ध्यानाकर्षण गर्नुभयो ।
आजको बैठकमा सांसद गङ्गाकुमारी बेल्वासेले दैलेख जिल्लामा पहिचान भएको पेट्रोलियम उत्खनन गरी व्यावसायिक उत्पादन सुरु गरेर आन्तरिक आवश्यकता पूर्ति गरिनुपर्ने धारणा राख्नुभयो ।
सांसद गोपाल भट्टराईले समाजकल्याण परिषद्का करार सेवाका केही कर्मचारीलाई निष्काशन गरिएको विषय सदनमा उठाउनुभयो । सांसद सुमित्रा विसीले देशका विभिन्न भागमा हत्या हिंसा बढ्दै गएको समाचार आइरहेको बताउनुहुँदै यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कारबाही र पीडितको न्यायका लागि पहल गरिनुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १२:५७










