१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

सुपर खुदीको आईपीओ निष्काशन मिति परिवर्तन, अब कहिलेदेखि आवेदन दिन सकिन्छ ?

१ फागुन, काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको मिति परिवर्तन गरेको छ। कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गर्न लागेको आईपीओको आवेदन दिने मिति परिवर्तन गरेको हो।

कम्पनीको आईपीओ निष्कासनको मिति अन्य कम्पनीको आईपीओसँग जुध्न गएकाले सिडिएस एण्ड क्लियरिङले कम्पनीलाई यसअघि तय भएको मिति परिवर्तन गर्न निर्देशन दिएको थियो । सोही बमोजिम कम्पनीले अब फागुन ५ गतेदेखि आईपीओको बिक्री आवेदन खुलाउने भएको हो ।

हाल रिज लाइन इनर्जी लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरिरहेको छ। सो कम्पनीको निष्काशन बन्द फागुन ४ गते हुनेछ।सुपर खुदीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ५५ हजार कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ। त्यस्तै, कम्पनीले ७७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ।

अब भने कम्पनीले कर्मचारीहरुका लागि ३१ हजार कित्ता छुट्याई बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार ०९:४५