रास्वपाका नेता प्रणय शम्शेर राणाले दिए पार्टीबाट राजीनामा
२९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रणय शमशेर राणाले पार्टीबाट राजीनामा दिनुभएकाे छ । बिहीबार राणाले आफ्नो जिम्मेवारीबाट राजीनामा दिनुभएकाे हाे ।
राणाले पार्टीमा आबद्ध भएयता आफूले आन्तरिक लोकतन्त्र, सुशासन र आर्थिक पारदर्शिताको विषयमा बहस पैरवी गर्दै आएको तर पार्टी केन्द्रले आफ्नो अनुकूल सङ्गठन र साङ्गठनिक संरचनामा मात्रै केन्द्रित भएको आरोप लगाउनुभएकाे छ ।
राणाले राजीनामा पत्रमा लेख्नुभएकाे छ, ‘सबै बेथितिका बावजुद मुकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको व्यहोरा जानकारी गराउन चाहन्छु ।,’
उहाँले पार्टीभित्रको प्राइमरी निर्वाचनमा पनि आर्थिक अपचलन भएको आरोप लगाउनुभएकाे छ । उहाँले आफ्नो राजीनामाबाट प्रभावित हुने स्वदेश र विदेशमा रहेका सङ्गठन र शुभेच्छुकहरुमा क्षमा समेत माग्नुभएकाे छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार १३:०५








