शिखर इन्स्योरेन्स ४ करोड ४७ लाख नोक्सानीमा
२९ माघ, काठमाडाैं । शिखर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ४ करोड ४७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्स २५ करोड ७३ लाख रुपैयाँ नाफामा थियो।
सार्वजनिक विवरण अनुसार कम्पनीको खुद आर्जित बीमा शुल्क २२.४१ प्रतिशतले बढेर ७८ करोड ५४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो शुल्क ६३ करोड ७६ लाख रुपैयाँ रहेको थियो। कुल आम्दानी पनि ५.७१ प्रतिशतले वृद्धि भई १ अर्ब २२ करोड ९९ लाख रुपैयाँ पुगेको छ।
यद्यपि, बीमा दाबी तथा खर्चमा उल्लेख्य वृद्धि हुँदा कम्पनी नोक्सानीमा गएको हो। समीक्षा अवधिमा खुद दाबी भुक्तानी १२२.५६ प्रतिशतले बढेर ८५ करोड १६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो दाबी ३८ करोड २६ लाख रुपैयाँ मात्रै थियो। त्यस्तै, कुल खर्च ६२.१५ प्रतिशतले बढेर १ अर्ब २९ करोड ३७ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी १९.३९ रुपैयाँबाट घटेर ऋणात्मक ३.०६ रुपैयाँ पुगेको छ। त्यस्तै, प्रति सेयर खुद सम्पत्ति मूल्य पनि २१२.११ रुपैयाँबाट घटेर १९६.६४ रुपैयाँमा झरेको छ।
पूँजी संरचनातर्फ हेर्दा कम्पनीको चुक्ता पूँजी २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ यथावत रहेको छ। विशेष जगेडा र विपद् जगेडा पनि अघिल्लो वर्षकै बराबर १ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ र १६ करोड ११ लाख रुपैयाँ कायम रहेको छ। तर, संचित मुनाफा २१.२५ प्रतिशतले घटेर १६ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ। अन्य इक्विटी पनि ३ प्रतिशतले घटेको देखिएको छ। बीमा शुल्क र आम्दानीमा वृद्धि भए पनि दाबी भुक्तानी तथा सञ्चालन खर्चमा तीव्र वृद्धि हुँदा कम्पनीको नाफामा ठूलो दबाब परेको देखिन्छ।
प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार १०:४१








