२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

सार्कको क्षेत्रीय सहयोग अनिवार्य हुनुपर्ने पक्षमा नेपाल

२९ माघ, काठमाडौँ । नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य भएको बताएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठकमा परराष्ट्र सचिव तथा सार्क स्थायी समितिका अध्यक्ष अमृतबहादुर राईले उक्त कुरा बताउनुभएको हो ।

आजको विश्वव्यापी चुनौती र अनिश्चितताका बीचमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य भएको भन्दै उहाँले राष्ट्रिय प्रयास र विश्वव्यापी प्रक्रियाबीच सेतुका रूपमा क्षेत्रीय सहकार्य अत्यावश्यक भएको बताउनुभयो ।

सार्कका महासचिव गोलाम सरवारले सार्कले चार दशकमा हासिल गरेका उपलब्धिको स्मरण गर्दै क्षेत्रीय सहकार्यको आकाङ्क्षालाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

आज समापन हुने बैठकले सार्क सचिवालयको बजेट र कार्यक्रमहरू अनुमोदन गर्नेछ । बैठकमा बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुन्छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार १०:०२