डिजिटल बैंकिङमा सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह
२७ माघ, काठमाडाैं । नेपाल राष्ट्र बैंकले सार्वजनिक स्थानमा उपलब्ध निःशुल्क वा असुरक्षित (Unsecured) वाइ–फाइ नेटवर्क प्रयोग गरी डिजिटल बैंकिङ कारोबार गर्दा उच्च जोखिम रहने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
राष्ट्र बैंकका अनुसार सार्वजनिक नेटवर्क प्रयोग गर्दा बैंकिङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने सम्भावना हुन्छ। यस्ता नेटवर्कहरूमा ह्याकर तथा वित्तीय अपराधीहरू सक्रिय रहने भएकाले गोप्य वित्तीय जानकारी चोरी भई दुरुपयोग हुन सक्ने खतरा बढ्दछ।
डिजिटल बैंकिङ कारोबारलाई सुरक्षित बनाउन आफ्ना व्यक्तिगत तथा बैंकिङ विवरणको सुरक्षा सुनिश्चित गर्नु अत्यन्त आवश्यक रहेको राष्ट्र बैंकको भनाइ छ। यसका लागि सुरक्षित र विश्वसनीय इन्टरनेट नेटवर्कमार्फत मात्र अनलाइन बैंकिङ सेवा प्रयोग गर्न सुझाव दिइएको छ।
त्यसैगरी, अनलाइन बैंकिङ कारोबार गर्दा बैंकको आधिकारिक वेबसाइट तथा मोबाइल एप्लिकेसन मात्र प्रयोग गर्न, पासवर्ड तथा पिन कोड समय–समयमा परिवर्तन गर्न समेत राष्ट्र बैंकले आग्रह गरेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक स्थानको वाइ–फाइ प्रयोग गरी विद्युतीय बैंकिङ कारोबार गर्दा विशेष सावधानी अपनाउन अनुरोध गर्दै कुनै समस्या परेमा गुनासो दर्ता गर्न www.gunaso.nrb.org.np पोर्टल प्रयोग गर्न वा वित्तीय ग्राहक संरक्षण इकाइमा सम्पर्क गर्न सकिने जनाएको छ।
प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १०:४७








