नाफासँगै घट्यो सानिमा मिडिल तमोरको प्रतिसेयर आम्दानी
२७ माघ, काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १८ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.०४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २७ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १६.९३ प्रतिशत घटेर ८८ करोड ९१ लाख रुपैयाँ कायम भएकाे छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ अर्ब ७ करोड रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियाे। त्यस्तै, कम्पनीको कुल नाफा १८.९० प्रतिशत र खुद सञ्चालन मुनाफा २७.०४ प्रतिशत घटेको छ।
३ अर्ब ३३ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ५१ करोड ४५ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६१ पैसा घटेर १० रुपैयाँ ८६ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ५७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.३३ गुणा रहेको छ।
प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १०:३४








