रूपन्देही–३ मा ३६ उम्मेदवारबीच प्रतिष्पर्धा हुँदै
२६ माघ, रूपन्देही । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर ३ बाट ३६ जना उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने भएको छ । यो क्षेत्रमा १७ जना स्वतन्त्रसहित १९ वटा राजनीतिक दलका उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार रूपन्देही–३ मा उम्मेदवारको अन्तिम नामावलीमा कायम रहेका ३६ जना उम्मेदवारलाई मतदान प्रयोजनका लागि चुनाव चिह्न प्रदान गरिसकिएको छ ।
विसं २०७९ सालको निर्वाचनमा यो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहरा निर्वाचित हुनुभएको थियो । बोहराले नेपाली कांग्रेसका उम्मेदवार तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो । प्रतिनिधि सभा सदस्यमा निर्वाचित बोहराको २०८१ चैतमा निधन भएको थियो ।
विसं २०७४ मा यहाँबाट नेकपा (एमाले) का घनश्याम भुसाल, २०७० मा राप्रपाका दीपक बोहरा र २०६४ सालमा मधेसी जनअधिकार फोरमका उम्मेदवार ओमप्रकाश यादव (गुल्जारी) निर्वाचित हुनुभएको थियो ।
अहिले यो क्षेत्रमा नेकपा (एमाले) बाट वासुदेव घिमिरे उम्मेदवार बन्नुभएको छ । २०७९ सालमा रूपन्देही क्षेत्र नम्बर ५ बाट पूर्वअर्थ राज्यमन्त्री तथा कांग्रेसका उम्मेदवार भरतकुमार शाहलाई पराजित गर्दै घिमिरे प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । घिमिरे रूपन्देहीको तिलोत्तमा नगरपालिकाका संस्थापक नगरप्रमुखसमेत हुनुहुन्छ । २०७९ सालमा भने रूपन्देही–३ मा एमालेले राप्रपाका उम्मेदवार दीपक बोहरालाई समर्थन गरेको थियो ।
त्यस्तै नेपाली कांग्रेसबाट नेता सुशील गुरुङले उम्मेदवारी दिनुभएको छ । पार्टीको रूपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति गुरुङ भैरहवा बहुमुखी क्याम्पसको पूर्वस्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पनि हुनुहुन्छ । विभिन्न सङ्घसंस्थामा आबद्ध गुरुङ अघिल्ला निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई जिताउन खटिनुहुन्थ्यो । यसपटक उहाँ आफैँ उम्मेदवार बन्नुभएको छ ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट फैजअहमद खाँले उम्मेदवारी दिनुभएको छ । २०७४ सालमा उहाँ तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट सिद्धार्थनगर नगरपालिकामा नगरप्रमुखको उम्मेदवार बन्नुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ न्युरोलोजिस्ट डा लेखजङ्ग थापालाई उम्मेदवार बनाएको छ । २०७९ सालमा भएको निर्वाचनमा रूपन्देही–३ बाट निर्वाचित दीपक बोहराको निधन भएपछि रिक्त भएको पदमा २०८२ कात्तिक १७ गते निर्वाचन आयोगले निर्वाचन गर्ने तयारी गरेको थियो । उपनिर्वाचनका लागि थापालाई नै पार्टीले उम्मेदवार बनाएको थियो । आगामी फागुन २१ गते नयाँ प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा भएपछि उपनिर्वाचनसम्बन्धी बाँकी कार्यक्रमहरू रद्द गरिएको थियो ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले क्याप्टेन गौरव बोहरालाई उम्मेदवार बनाएको छ । बोहरा स्वर्गीय दीपक बोहराका सुपुत्र हुनुहुन्छ । लामो समय बुद्ध एअरको सिनियर पाइलटका रूपमा काम गरी नागरिक उड्डयन क्षेत्रमा अनुभव सँगाल्नुभएका बोहरा यसपटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ ।
त्यसैगरी जनता समाजवादी पार्टी (जसपा), नेपालबाट श्रीनिवास यादवले उम्मेदवारी दिनुभएको छ । यादव २०७४ सालमा रूपन्देही क्षेत्र नम्बर ४ (२) बाट प्रदेश सभा सदस्यमा उम्मेदवार बन्नुभएको थियो । जनमत पार्टीले २९ वर्षीय विशाल गुप्तालाई उम्मेदवार बनाएको छ ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीले सुग्रिमचाई, राष्ट्रिय जनमोर्चाले बद्रे आलम मुसलमान, प्रगतिशील लोकतान्त्रिक पार्टीले गोविन्दप्रसाद काराखेती, मङ्गोल नेसनल अर्गनाइजेसनले कुलवीर घर्ती मगर, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले राजु गौडेल, नेसनल रिपब्लिक नेपालले मोहन थापा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले शङ्करप्रसाद ज्ञवालीलाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीबाट मोजिबअलि मुसलमान, उज्यालो नेपाल पार्टीबाट सरोजसिंह चौधरी, गान्धीवादी पार्टी नेपालबाट लालबहादुर राना, नागरिक उन्मुक्ति पार्टी, नेपालबाट नन्दकुमारी थापा र आमजनता पार्टीबाट राधेश्याम तेलीगुप्ताले उम्मेदवारी दिनुभएको छ ।
स्वतन्त्रतर्फ अन्जना चौधरी थापा, करम हुसेन खान, ख्यामानन्द भुसाल, गोपाल भण्डारी, जीतबहादुर गुप्ता, जुमरातीधुनिया मुसलमान, ठाकुर अधिकारी, तेजिन्द्र मल्ल, दीपकबहादुर दर्जी, दुर्गा लाल शर्मा, धनबहादुर बस्नेत, नबाब मुसलमान, महेन्द्र यादव, मोहम्मदमुर्तजा साह, विष्णुबहादुर राना, सचिन राना र ज्ञानप्रसाद भुर्तेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
क्षेत्र नम्बर ३ मा ७१ हजार २५८ पुरुष, ६८ हजार ७७५ महिला र दुई अन्य गरी एक लाख ४० हजार ३५ जना मतदाता छन् । यहाँ ४६ मतदानस्थल र १५७ वटा मतदान केन्द्र छन् । रूपन्देहीमा प्रतिनिधि सभातर्फ पाँचवटा निर्वाचन क्षेत्र छन् ।
प्रकाशित मिति : २६ माघ २०८२, सोमबार १२:१०








