१७ फाल्गुन २०८२, आईतवार | Mon Mar 2 2026

के हामी यति पनि गर्न सक्दैनौँ ?

-रामनाथ खनाल

-त्रिवि शिक्षण, वीर लगायत काठमाडौंका अस्पतालमा रातको अन्तिम प्रहर नसकिँदै लाइन लाग्छ। दुर दराजबाट उपचारका लागि आउने बिरामी र तिनका आफन्त टिकट सकिने भयले अस्पताल प्राङ्गमणमै ओछ्यान लगाइराखेका हुन्छन्। के हामी अनलाइनबाटै टिकट काट्ने प्रबन्ध मिलाउन सक्दैनौं ?

-सरकारी अस्पतालमा मात्रै होइन निजी अस्पतालमा पनि कुरुवाको बिजोग छ। सुविधासम्पन्न भनिएको बाँसबारीको न्युरो अस्पतालमा त कुरुवा खुला आकासमुनि नै सुत्न विवश छन्। त्रिवि शिक्षण, वीर, पाटनलगायत अस्पतालको दुर्दशा पनि भनिसाध्य छैन। के हामी कुरुवालाई सहज बनाइदिन सक्दैनौं ?

-त्रिवि शिक्षण, वीर, कान्ति आदि अस्पतालको आकस्मिक उपचार कक्षको दुर्दान्त छ। एउटै शय्यामा तीन जना बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता छ। एउटै शय्यामा तीन जना बिरामी राख्दा एउटाको रोग अर्कालाई सरेर उपचार निष्प्रभावी बन्दैन? उपचार कक्ष र सास्ती कक्षबीच फरक छुट्टिन्छ? के हामी अत्यधिक बिरामीको चाप भएका यी अस्पतालको आकस्मिक कक्ष सुधार गर्न सक्दैनौं? शय्या थप्न सक्दैनौं ?

-भनिन्छ, घर सफासुग्घर छ कि छैन, मानिस कत्तिको सफामा बस्न रुचाउँछ भनेर शौचकक्ष हेरे थाहा हुन्छ। अस्पतालको हकमा पनि त्यही हो। सरकारी अस्पताल छिरिसक्नु छैनन्। कुरुवा, कर्मचारीले मात्र होइन, बिरामीले प्रयोग गर्ने पनि त्यही शौचालय हो। के हामी सरकारी अस्पतालका शौच कक्षलाई रोग उत्पादन गर्ने कारखाना बनाउँदैछौं? होइन भने सुधार गर्न केले रोकेको छ ?

-काठमाडौंमा बर्खामै पनि पानी हाहाकार हुन्छ। सुख्खा याममा त आधा पनि पानी पुग्दैन। ७० अर्ब खर्चिएर ल्याएको मेलम्ची घरका धारामा होइन सडकमा छ्यालब्याल छ। काडमाडौंमा मात्रै तीन हजार ठाउँबाट पानी चुहिएको चुहियै छ। सडक, विद्युत, टेलिकमबीच समन्वय छैन। जसले पायो त्यही निकायले खनेर सडक अस्तव्यस्त बनाउने र त्यसको मार खानेपानी आपूर्तिमा परिराखेको छ। के यसलाई हामी व्यवस्थित गर्न सक्दैनौं ?

कृत्रिम बाैद्धिकताले तयार पारेको चित्र ।

-काठमाडौंका मुख्य चोकमा ट्राफिक लाइटको राम्रो प्रबन्ध छैन। प्रबन्ध मिलाउन खोजिए पनि दुई दिनभन्दा अधिक चल्दैन। के हामी काठमाडौंका मुख्य चोकमा व्यवस्थित ट्राफिक लाइट राख्न सक्दैनौं? ट्राफिकलाई हात हल्लाएर सवारी व्यवस्थापन सरकारलाई आनन्द आइरहेको छ? ठूला योजना पस्कनुअघि सामान्य कामबाट सुधार सुरू गरौं न !

-सहरी क्षेत्रमा फोहोर चुनौतीपूर्ण बन्दैछ। तर हामी उत्सर्जनकर्ता अझै फोहोर छुट्टयाउनुपर्छ भनेर सचेत छैनौं। घरमा तीन–चारवटा बाल्टी राखेर, कुहिने, नकुहिने र बिक्री हुने फोहोर छुट्टयाउन पनि हामी सरकारकै भर परिरहेका छौं। आफ्नो घरअघिल्तिर फोहोर थुपार्ने र सरकारले सफा गरेन भनेर कतिञ्जेल धारेहात लगाइरहने ?

-निमुखाहरूले सडक अतिक्रमण गरेको सबैको आँखा पर्छ। तर ओगट्नेमा निमुखा न्यून छन्। सडकमै निर्माण सामग्री थुपार्ने, घन्टौंसम्म गाडी पार्किङ गर्ने, आफ्ना पसल–कबल अघिल्तिर फुटपाथ नै ओगटेर सामग्री थुपार्ने र बेचबिखन गर्ने निमुखा होइनन्। पहुँचवाला हुन्! के हामी यस्तो प्रवृत्तिलाई तुरुन्तै रोक्न दण्ड–जरिवाना गराउन सक्दैनौं ?

-कार्यालय समयमा काठमाडौंमा सवारी जाम अधिक छ। केही सयमअघि डेडिकेटेड लेनको तमासा पनि देखिएको थियो। अहिले रङ र कार्यान्वयन दुवै उडिसकेको छ। तर यसलाई व्यवस्थित गर्नु अपरिहार्य छ। त्यसका लागि डेडिकेटेड लेन तोेक्ने, निश्चित सडकलाई एकतर्फी बनाएर सहजीकरण गर्ने, साना सवारी निरुत्साहित गरेर ठूला सवारी चलाउने आदि गर्न सक्दैनौं ?

-चुनावले छपक्कै छोपेको छ। राजनीतिक दल, उम्मेदवार घोषणा पत्र मस्यौदा गर्न तल्लीन छन्। कुन पार्टीले कस्तो घोषणा पत्र ल्याउँछ भनेर मतदाता होइन, राजनीतिक दल नै कुरिरहेका छन्। विकासे, बतासे कुरा त छँदैछन्, यी र यस्ता सामान्य लाग्ने तर असाधारण नतिजा निकाल्ने काममा पनि ध्यान दिऊँ न है।

(पत्रकार रामनाथ खनालले फेसबुकमा राख्नु भएको टिप्पणी यहाँ साभार गरिएको हो ।-सम्पादक)

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार ०७:०१