२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

आइएमई लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२२ माघ, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले २७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.०४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ। कम्पनीकाे खुद बीमाशुल्क आम्दानी ३६.४५ प्रतिशतले बढेर ३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । ५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोषमा २८ करोड ९८ लाख रुपैयाँ, रिटन्ड अर्निङ्गमा ४३ करोड ४२ लाख रुपैयाँ र अन्य इक्विटीमा २१ करोड रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ११ पैसा बढेर १० रुपैयाँ ८३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.११ गुणा रहेको छ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार १०:४०