२३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

तीन कम्पनीले आईपीओ निष्कासन गर्ने, कुनको कति ?

२२ माघ, काठमाडौं। तीन कम्पनीले आइपीओ निष्कासन गर्ने भएका छन् । होटल इच्छा लिमिटेड, एशियन ब्याट्रिज लिमिटेड र हुलास आइरन इन्डस्ट्रिज लिमिटेडले आइपीओ निष्कासन गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् ।

होटल इच्छा लिमिटेडले धितोपत्र बोर्डमा अंकित मूल्य १०० रुपैयाँ दरमा ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता आइपीओ निष्कासनको अनुमति मागेको हो । कम्पनीले आइपीओ निष्कासन गर्न माघ २० गते बोर्डमा निवेदन दिएको हाे । कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, एशियन ब्याट्रिज लिमिटेडले अंकित मूल्य १०० रुपैयाँ दरमा १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीको बिक्री प्रबन्धकमा पनि हिमालयन क्यापिटल नै रहेको छ ।

साथै, हुलास आइरन इन्डस्ट्रिज लिमिटेले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १५५ रुपैयाँ थप गरी प्रतिकित्ता २५५ रुपैयाँका दरले २ अर्ब ४८ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ९७ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अुनमति मागेको छ । कम्पनीकाे आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार ०९:५६