सन नेपाल लाइफको नाफा २८ करोड ५४ लाख, प्रतिसेयर आम्दानी कति ?
२१ माघ, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २८ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.११ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यही अवधिमा भने कम्पनीकाे नाफा २८ करोड २२ लाख रहेकाे थियाे ।
याे अवधिमा कम्पनीको खुद बीमाशुल्क आम्दानी ३.६४ प्रतिशतले वृद्धि भई २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खुद बीमाशुल्क आम्दानी २ अर्ब १८ करोड रुपैयाँ थियो। कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब ६१ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ९४ करोड रुपैयाँको तुलनामा घटेको हो।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार ८ अर्ब ९६ करोड ९४ लाख रुपैयाँबाट बढेर ११ अर्ब ४ करोड ७९ लाख रुपैयाँ नाघेको छ । चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख रुपैयाँ रहेको यस कम्पनीको सेयर प्रिमियम १ अर्ब ३० करोड २२ लाख रुपैयाँ, महाविपत्ति कोषमा २३ करोड ६१ लाख रुपैयाँ, जगेडा कोषमा ५४ करोड ८५ लाख रुपैयाँ रहेकाे छ । कम्पनीको प्रतिसेयर आम्दानी ११.३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४७.२८ रुपैयाँ रहेकाे छ ।
प्रकाशित मिति : २१ माघ २०८२, बुधबार ०९:४१







