बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
१५ माघ, बेइजिङ । बेलायत र चीनका नेताहरूले बढ्दो विश्वव्यापी अनिश्चितताको पृष्ठभूमिमा दुई देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउन व्यापक रणनीतिक साझेदारीको आवश्यकता औँल्याएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम प्रत्यक्ष रूपमा नलिइए पनि विश्व व्यवस्थामा आएको उतारचढाव दुवै नेताको छलफलको केन्द्रमा रहेको देखिएको छ ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा जलवायु परिवर्तन र विश्वव्यापी स्थिरताजस्ता चुनौतीपूर्ण विषयमा सहकार्य गर्दै सम्बन्धलाई मजबुत बनाउनु आवश्यक रहेको बताउनुभयो । दुवै नेताबीच बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भेट भएको हो । बेलायत–चीन सम्बन्ध पछिल्ला वर्षहरूमा जासुसी आरोप, युक्रेन युद्धमा रुसप्रति चीनको समर्थन र हङकङमा स्वतन्त्रतामाथि लगाइएको नियन्त्रणका कारण तनावग्रस्त बनेको थियो । आठ वर्षपछि चीन भ्रमण गर्ने पहिलो बेलायती प्रधानमन्त्री स्टार्मर नै हुनुहुन्छ ।
राष्ट्रपति सीले विगतका वर्षहरूमा सम्बन्धमा अवरोध आएको स्वीकार गर्दै वर्तमान जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा शान्ति र स्थिरताका लागि वार्ता र सहकार्य सुदृढ गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय सुरक्षा र मानव अधिकारसम्बन्धी चिन्ताबीच चीनसँग संवाद अघि बढाउन स्टार्मरले सामना गर्नुपरेको आलोचनालाई पनि सङ्केत गर्नुभयो ।
प्रधानमन्त्री स्टार्मरले चीनसँग कूटनीतिक संवाद र आर्थिक सहकार्य कायम राख्दै राष्ट्रिय सुरक्षाको रक्षा गर्ने नीति अपनाएको स्पष्ट पार्नुभयो । उहाँले सरकारमा आएपछि बेलायतलाई अन्तर्राष्ट्रिय रूपमा पुनः सक्रिय बनाउने वाचा गरेको स्मरण गराउँदै विदेशमा हुने घटनाले घरेलु अर्थतन्त्र र जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गर्नुभयो ।
आर्थिक वृद्धि र जीवनयापन लागतको दबाब सामना गरिरहेको बेलायती सरकारले चीनमा व्यापारिक अवसर विस्तार गर्न खोजेको छ । यसै क्रममा स्टार्मरको भ्रमणमा ५० भन्दा बढी शीर्ष व्यापारीहरू सहभागी भएका छन् ।
ट्रम्पको नेतृत्वमा विश्वव्यापी व्यापारमा आएको अवरोधका कारण धेरै मुलुक नयाँ साझेदारी खोज्न सक्रिय बनेका छन् । यसै सन्दर्भमा स्टार्मर दक्षिण कोरिया, क्यानाडा र फिनल्यान्डपछि यस महिना बेइजिङ भ्रमण गर्ने चौथो अमेरिकी सहयोगी देशका नेता हुनुहुन्छ । उहाँले बिहीबार चीनको राष्ट्रिय जन काङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्नुभएको छ । दुवै देशले विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १२:४२







