१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

१५ माघ, म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध भएको छ । दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा प्राबिधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दा विद्युत सुविधाबाट वञ्जित भएका हुन् ।

लुलाङ आधारभूत विद्यालयका शिक्षक दर्पण रोकाले विद्युत अभावमा रातका समयमा उज्यालो बनाउन, घरायसी काम, विद्यार्थीहरुलाई पठनपाठन र वडा कार्यालयको सेवा प्रवाहमा समस्या भएको गुनासो गर्नुभयो ।

मोवाइल चार्ज गर्न नपाएर सञ्चार सेवा प्रभावित बनेको छ । साविक लुलाङ गाविसमा तीन सय ७० घरपरिवारले परियोजनाको विद्युत उपभोग गर्दै आएका छन् । गत जेठ महिनामा लुलाङमा केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा पुगेको थियो । लघुजलविद्युतको विद्युत भएकाले स्थानीयबासीहरुले घरमा मिटरबक्स जडान र वायरीङ गर्न बेवास्ता गरेका थिए ।

केन्द्रिय लाइनको विद्युत पुगिसकेकाले लघुजलविद्युत परियोजना मर्मत गर्न सरकारको आर्थिक कार्यबिधीले नदिने भएकाले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर मिटरबक्स जडान गरि विद्युत विस्तारमा पहल गरिएको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

दरखोला लघुजलविद्युत परियोजनामा पटक–पटक समस्या आउन आउने भएकाले विद्युतको दिर्घकालिन समस्या समाधानका लागि केन्द्रिय प्रशारण लाइनको विद्युत जोड्न प्राथमिकता दिएको उपाध्यक्ष पुनले बताउनुभयो । गत जेठमै केन्द्रिय लाइन पुगेपनि खोरिया स्थित नेपाल टेलिकमको मोवाइल टावर सञ्चालन बाहेकको काममा प्रयोग भएको थिएन् ।

प्रकाशित मिति : January 29, 2026 at 11:53 am