९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026

सूर्यज्योति लाइफका बीमित र अभिकर्तालाई एनआईसी एशिया बैंकले निःशुल्क क्रेडिट कार्ड दिने

९ माघ, काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडका बीमित र बीमा अभिकर्ताहरूलाई एनआईसी एशिया बैंक लिमिटेडले जीवनभरका लागि निःशुल्क क्रेडिट कार्ड दिने भएको छ।

सूर्यज्योति लाइफ र एनआईसी एशिया बैंकबीच भएको एक सम्झौता बमोजिम बीमित र अभिकर्ताले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड पाउने भएका हुन्। यस सम्झौतापत्रमा सूर्यज्योति लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्री र एनआईसी एशिया बैंकका तर्फबाट पनि सीईओ सुजित कुमार शाक्यले हस्ताक्षर गरेका हुन्।

यो सम्झौताबाट सूर्यज्योति लाइफका बीमिति र बीमा अभिकर्ताहरूलाई वार्षिक शुल्क विनै क्रेडिट कार्ड प्राप्त गर्न अवसर मिल्ने कम्पनीले जनाएको छ। अर्थात् बैंकको क्रेडिट कार्ड प्रयोग गरे बापत वर्षैपिच्छे शुल्क तिर्न नपर्ने र यो जीवनरका लागि लागू रहने बताएको छ। यसबाट आकस्मिक वित्तीय आवश्कता व्यवस्थापन गर्न र डिजिटल भुक्तानीका सुविधाहरू उपयोग गर्न सहज बनाउने विश्वास कम्पनीले लिएको छ।

ग्राहकलाई परिष्कृत र सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने निरन्तरको प्रयास स्वरूप बैंकले चालेको यस कदमबाट सूर्यज्योति लाइफका बीमित र अभिकर्तालाई प्रत्यक्ष फाइदा पुग्नुका साथै क्रेडिट कार्डको माध्यमबाट डिजिटल अर्थतन्त्रमा जोड्न थप लाभ पुग्ने बैंकले विश्वास लिएको छ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार १०:०८