सिनर्जी पावरले भन्योः ‘अराजक समूहको दादागिरी र धाकधम्कीले गर्दा साधारणसभा गर्न सकिएन’
८ माघ, काठमाडौँ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले केही अराजक समूहको गतिविधिका कारण आजका लागि बोलाइएको वार्षिक साधारण सभा स्थगित भएको जनाएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै साधारण सभा सञ्चालन गर्न नसकिएको जानकारी दिएको हो।
कम्पनीका अनुसार केही लगानीकर्ताहरूको समूहले साधारण सभा स्थलमा अराजक गतिविधि गर्दै शेयरधनीहरू, शेयर रजिष्ट्रार कार्यालयका कर्मचारी, कम्पनीका पदाधिकारी तथा निर्वाचन अधिकृतलाई दादागिरी शैलीमा धाकधम्की दिई सभाको नियमित कामकारबाही सुरु हुन नदिएको थियो। उनीहरूले सभा स्थल तथा सभा हल कब्जा गरी शेयरधनी उपस्थिति पुस्तिकामा हाजिर गर्नसमेत अवरोध पुर्याएको कम्पनीको भनाइ छ।
कम्पनीको २०८२ पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले २०८२ पुस २८ गते कम्पनीको १९औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको थियो। तर, सो दिन गणपूरक संख्या नपुगेपछि आज माघ ८ गतेका लागि पुनः साधारण सभा बोलाइएको थियो।
कम्पनीका अनुसार आजको साधारण सभा सुरु हुनुअघि नै केही व्यक्तिहरूको अराजक समूहले सभा स्थलमा अव्यवस्था सिर्जना गरेको थियो। प्रोक्सी दर्ता गरेका शेयरधनीहरूलाई निर्वाचन अधिकृतले रद्द भएको प्रोक्सीको विवरण भरपाई गरी लिन अनुरोध गर्दा पनि साधारण सभा स्थलमै प्रोक्सी प्रमाणित गर्नुपर्ने, शेयर रजिष्ट्रार र निर्वाचन अधिकृतले प्रमाणित गरेको प्रोक्सी नमान्ने भन्दै कम्पनीका कर्मचारीहरूमाथि हातपात गर्ने प्रयाससमेत भएको उल्लेख गरिएको छ।
यस्तो तनावपूर्ण र असुरक्षित अवस्थाका कारण वार्षिक साधारण सभा सञ्चालन असम्भव भएपछि सञ्चालक समितिको निर्णयअनुसार आजको साधारण सभा स्थगित गरिएको कम्पनीले जनाएको छ। साधारण सभामा देखिएको यस किसिमको अराजक गतिविधिप्रति कम्पनीको सञ्चालक समितिले खेद प्रकट गरेको छ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार १६:२९






