८ माघ २०८२, बिहीबार | Thu Jan 22 2026

माघ १८ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक

८ माघ, काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले यही माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जारी गरेको आईपीओ बाडफाँडपश्चात अब सर्वसाधारणमा जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १३ लाख ७९ हजार ३५० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावितका लागि ६ लाख ८९ हजार ६७५ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ६८ लाख ९७६ कित्ता बाँडफाँड गरिसकेको छ ।

अब कम्पनीले १३ हजार ७९३ कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि र ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ७२ हजार ४३१ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्मका लागि माघ २१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार १०:०५