७ माघ २०८२, बुधबार | Wed Jan 21 2026

आगामी निर्वाचनबाट कांग्रेस संसद्‌को पहिलो दल बन्छः शंकर तिवारी

७ माघ, काठमाडाैँ । नेपाली कांग्रेस युवा नेता शंकर तिवारीले आगामी निर्वाचनबाट कांग्रेस संसद्‌को पहिलो दल बन्ने बताउनुभएको छ । उहाँले भदौ जेनजी उथलपुथलपछि हुन लागेको निर्वाचनमा आफूलाई उम्मेदवारका रूपमा देख्न चाहनेलाई आभार प्रकट गर्दै आफूले लिएको सुदूर राजनीतिक लक्ष्यका अगाडि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुनु नहुनु गौण भएको बताए ।
dainiki.com

सभापति गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस नयाँ संकल्प, उमङ्ग जोश र जाँगर सहित आम निर्वाचनका लागि होमिएको उहाँको भनाइ छ । कांग्रेस बदलिएर देश बदल्ने महाअभियानमा सबैको साथ र समर्थनको जरुरी भएको भन्दै उहाँले भन्नुभएको छ, ‘जडतामा अल्झिएको कांग्रेस एकैपटक बगेको छ, सफा कन्चन र निर्मल बनेर। तपाईँहरू निर्धक्क रहनुहोस् कांग्रेस पहिलो पार्टी बन्ने बन्नेछ। नेपाली राजनीतिमा नयाँ कीर्तिमान लेखिनेछ।’

यस्तो छ शंकरको अपिल

निर्धक्क अगाडि बढ्नु होस्, फाल्गुन २१ गते कांग्रेस पहिलो पार्टी बन्नेछ ।
~ फाल्गुन २१ गते सम्पन्न हुने आम निर्वाचनका लागि देशभर अत्यन्त उत्साहका साथ शान्तिपूर्ण र हर्षोल्लासपूर्ण वातावरणमा माघ ६ गते उम्मेदवारहरुको मनोनयन सम्पन्न भएको छ। भाद्र २३/२४ को जेनजी उथलपुथल पछि हुन लागेको यस निर्वाचनमा मलाई पनि सांसदको उम्मेदवारको रुपमा देख्न चाहनुहुने आशीर्वाद दिनुहुने सबै सबै शुभेच्छुकहरू प्रति कृतज्ञ छु र हार्दिक आभार प्रकट गर्दछु।

मैले लिएको सुदूर राजनीतिक लक्ष्यका अगाडि प्रतिनिधि सभा निर्वाचनमा मेरो उम्मेदवारी हुनु या नहुनु गौण कुरा हो। आम निराशा र अन्योललाई चिर्दै काङ्ग्रेस बदलेर देशलाई बदल्ने जुन महान लक्ष्यमा हामी लागेका थियौँ, त्यो लक्ष्य प्राप्तिको नजिक पुगेको तथ्य तपाईँहरू समक्ष सार्वजनिक गर्न पाउँदा म अत्यन्त हर्षित छू।

कांग्रेस बदल्ने मेरो संकल्प भाद्र २३ को जेन्जी उथलपुथल पछि झन् तीब्र भएर गएको थियो। त्यो काम अत्यन्त छोटो समयमा झन्डै आशातित , तिलश्मी र जादुमयी शैलीमा सम्पन्न भएको छ। पुस २७ देखि माघ ६ सम्मका १० दिनका प्रत्येक क्षण नेपाली इतिहासले फेरि फेरि दोहोराएर हेर्नेछ, खोतल्नेछ। नेपाली इतिहासको त्यो निर्णायक क्षणमा म जहाँ उभिए, त्यो क्षण सम्भव गराउन म जसरी लागे र उभिएँ , त्यो मेरो जिन्दगीको सबभन्दा गौरवका क्षणहरू हुन।

नेपाली कांग्रेसको विशेष अधिवेशन सम्पन्न हुनु र नेतृत्व बदलिनु चानचुने घटना थिएन। आदरणीय सभापति गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस नयाँ संकल्प , उमङ्ग जोश र जाँगर सहित आम निर्वाचनका लागि होमिएको छ। कांग्रेस बदलिएर देश बदल्ने यस महाअभियानमा तपाईंहरूको अझ ठूलो साथ र समर्थनको जरुरी छ।

जडतामा अल्झिएको कांग्रेस एकैपटक बगेको छ , सफा कन्चन र निर्मल बनेर। तपाईँहरू निर्धक्क रहनुहोस् कांग्रेस पहिलो पार्टी बन्ने बन्नेछ। नेपाली राजनीतिमा नयाँ कीर्तिमान लेखिनेछ।

निर्वाचनका कार्यक्रम प्रारम्भ भए संगै नेपाल नवनिर्माणको युग प्रारम्भ भएको छ। त्यसको पहिलो पाइला आगामी निर्वाचनको परिणामले निर्दिष्ट गर्नेछ। तसर्थ टिकट वितरणका बेला देखिएका तिक्तता र मनोमालिन्यतालाई बिर्सेर मजबुत र सर्वव्यापी एकता सहित बढ्नु कांग्रेसजनको ऐतिहासिक कार्यभार र दायित्व हुन आएको छ। पार्टीको आधिकारिकता निरूपण गर्ने बहानामा प्रायोजित र कृतिम विवाद खडा गरेर एउटा पक्ष न्यायालयको ढोका ढकढक्याएको बेला ७२ घण्टाको छोटो समय भित्र १६५ निर्वाचन क्षेत्रमा सबै खाले सन्तुलन कायम गरेर टिकट वितरण गर्ने कुरा झन्डै असामान्य कार्य थियो।टिकट वितरणका बेला देखिएका छिटपुट अलमल र विवाद साम्य हुने क्रममा छन् ।

गणतान्त्रिक संविधान जारी भएपछि पहिलो पटक १६५ निर्वाचन क्षेत्रमा रुखचिन्हमा मतदान गर्न पाउने गरी कांग्रेसका उम्मेदवारहरू खडा गरेको छ। यसले विगत निर्वाचनहरूमा नेपाली कांग्रेसको समानुपातिक तर्फ खुम्चिएको हिस्सालाई रोक्न सहज गराउने छ।

नवनिर्वाचित नेतृत्वको संयम, धैर्यता र उदारताका कारण कतै २०५१ सालको मध्यावधिको विग्रह त हुने होइन भन्ने संशय भएको बेला हामी २०४८ सालतिरकै परिणाम तर्फ उन्मुख भएका छौँ। नेपाली राजनीतिमा नेपाली कांग्रेसको सर्बोपरिता पुन एकपटक स्थापित हुने आधार तय भएको छ ।

तसर्थ, नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारका रूपमा रुख चुनाव चिन्ह लिएर तपाईंहरूका बीचमा आउनु भएका पार्टीका उम्मेदवारलाई पार्टी पंक्तिका सबै साथीहरू एकताबद्ध भई निर्वाचन अभियानमा लाग्न, देशभरका प्रत्यक्ष तर्फ १६५ वटै निर्वाचन क्षेत्रमा र ११० समानुपातिक सिटमा अत्यधिक मतका साथ विजयी गराउन हार्दिक अनुरोध तथा अपिल गर्दछु।आदरणीय नेता गगन थापाको नेतृत्वमा फागुन २१ गते नेपाली कांग्रेस राष्ट्रिय शक्तिको हैसियतमा गौरवमय ऐतिहासिक परम्परा कायम गर्दै संसदको पहिलो शक्ति भएर उदाउनेछ।
जय नेपाल !

शंकर तिवारी
माघ ७, २०८२

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार १९:१७