३६ प्रतिशतले घट्यो निफ्राको नाफा, प्रतिसेयर आम्दानी कति ?
७ माघ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ४० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.१५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६४ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.०९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४.५१ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २८.६२ प्रतिशत र सञ्चालन मुनाफा ३६.०४ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३३.३७ प्रतिशत घटेर ३४ करोड ७८ लाख रुपैयाँमा झरेको छ ।
२१ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब १८ करोड ५७ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ १५ पैसा घटेर ३ रुपैयाँ ८० पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६८.४६ गुणा रहेको छ।
प्रकाशित मिति : ७ माघ २०८२, बुधबार ०८:५८









