६ माघ २०८२, मंगलवार | Tue Jan 20 2026

रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी मनोनयन दर्ता

६ माघ, रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्व निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । आसन्न प्रतिनिधसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले आज आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।

मनोनय दर्तापश्चात् सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै संयोजक दाहालले माओवादी सशस्त्र युद्धको आधार इलाकाका रुपमा रहेको रुकुमको समग्र विकास निर्माणलाई आफूले पहिलो प्राथमिकता दिने बताउनुभयो । उहाँले भन्नुभयो, “रुकुम जनयुद्धको आधार इलाका हो, यसपटक निर्वाचनमा आएँ । रुकुमको विकासलाई पहिलो प्राथमिकता दिन्छु ।”

यसअघि संयोजक दाहाल गोरखा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा विजयी हुनुभएको थियो । रुकुममा हालसम्म राष्ट्रिय जनमोर्चा, मङ्गोल नेसनल अर्गनाइजेसन र नेसनल रिपब्लिकन नेपालका उम्मेदवारले पनि मनोनयन दर्ता गराइसकेका छन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १४:५०