६ माघ २०८२, मंगलवार | Tue Jan 20 2026

यी स्थानमा हुनेछ काठमाडौँका उम्मेदवारी दर्ता

६ माघ, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न काठमाडौँका १० क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा चहलपहल सुरु भएको छ ।

क्षेत्र नंं १ को कार्यालय काठमाडौँ महानगरपालिका–३१ स्थित नयाँबानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रको कार्यालयमा स्थापना गरिएको छ । क्षेत्र नं २ कार्यालय कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थली चौरमा रहेको नगरपालिका भवनमा स्थापना गरिएको काठमाडौँका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

क्षेत्र नं ३ को कार्यालय गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित वडा कार्यालयमा स्थापना गरिएको छ । क्षेत्र नं ४ को कार्यालय बूढानीलकण्ठ नगरपालिका–२ चपलीस्थित ज्येष्ठ नागरिक समाज भवनमा स्थापना गरिएको छ । क्षेत्र नं ५ को कार्यालय टोखा नगरपालिका–५ स्थित श्री समाज भवनमा स्थापना गरिएको छ ।

क्षेत्र नं ६ कार्यालय तारकेश्वर नगरपालिका–६ धर्मस्थलीस्थित नगरपालिका भवनमा गरिएको छ । क्षेत्र नं ७ को कार्यालय काठमाडौँ महानगरपालिका–१६ खुसीबु, बालाजुस्थित बहुउद्देश्यीय मार्सल आर्टस् केन्द्र (जुडो हल)मा स्थापना गरिएको छ । क्षेत्र नं ८ को कार्यालय नागार्जुन नगरपालिका–५ स्थित नगरपालिका भवनमा गरिएको छ ।

क्षेत्र नं ९ को कार्यालय चन्द्रागिरि नगरपालिका वडा नं १२ बलम्बुस्थित नगरपालिका भवनमा स्थापना गरिएको छ । क्षेत्र नं १० को कार्यालय कीर्तिपुर नगरपालिका वडा नं २ बाघ भैरवस्थित वडा नं २ को कार्यालयमा स्थापना गरिएको छ ।

काठमाडौँका १० वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि दर्ता गराउन चाहनेको आउन थालेका छ । उम्मेदवारी दर्ताका लागि सुरक्षालगायत सबै तयारी पनि पूरा भएको निर्वाचन आयोग, जिल्ला निर्वाचन अधिकारीको कार्यालय काठमाडौँले जनाएको छ ।

उम्मेदवारी दर्ताका लागि आज बिहान १०ः०० देखि बेलुकी ५ः०० बजेसम्म काठमाडौँका १० वटासँगै देशभरका १६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । बेलुकी ५ः०० देखि ७ः०० बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम छ ।

यही माघ ७ गते बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । माघ ७ गते दिउँसो ३ः०० बजेदेखि माघ ८ गते बेलुका ५ः०० बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ः०० देखि ७ः०० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

माघ ९ गते दिउँसो १ः०० देखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार ११:४६