१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

शिखर पावरको आईपीओ बिक्री खुला, क-कसले किन्न पाउछन् ?

६ माघ, काठमाडाैं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको हो।

कम्पनीले ३२ करोड रुपैयाँ बराबरको रु. १०० अंकित दरका ३२ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

सर्वसाधारणको लागि छुट्याइएको मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात रु.९ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिसेयर अंकित मूल्य रु.१०० दरको ९ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरु (साविक दगातुन्डाँडा गाविस, सीसाखानी गाविस, जलजला गाविस, ग्वालिचौर गाविस, श्रीमगिठे गाविस, रणसिंहकिटेनी गाविस र दर्लिङ गाबिसका सम्पूर्ण वडाहरु) र आयोजनाको विद्युत प्रसारण लाईनबाट प्रभावित क्षेत्र बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका बडा नं. २ (साविक बुर्तिवाङ गाविसको वडा नं. २, ३, ४ र ५ मात्र) का स्थानीय बासिन्दाहरुको लागि निष्काशन गरी बिक्री गरिएकाे छ ।

बाँकी २२ करोड २० लाख रुपैयाँबराबरको प्रतिसेयर अंकित मूल्य रु.१०० दरको २२ लाख २० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख २२ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकहरुको लागि बिक्री गरिएकाे छ ।

कम्पनीकाे आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा माघ २० गते र ढिलोमा फागुन ८ गतेसम्म रहनेछ । वैदेशिक रोजगारीमा रहेकाका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा माघ ९ गते र ढिलोमा माघ २० गते हुनेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले ग्लोबल आइएमई बैंक नक्साल, ग्लोबल आइएमई बैंक बुर्तिवाङ, ग्लोबल आइएमई बैंक बाग्लुङ बजार, प्रभु बैंक ग्वालीचौर बाग्लुङ, गरिमा विकास बैंक बुर्तिवाङ र साइन रेसुङ्गा डेभलपमेन्ट बैंक बुर्तिवाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : January 20, 2026 at 9:36 am