देश र जनताको मुद्दा बोकेको मानिसलाई अन्य मुद्दासँग मतलब छैनः सभापति लामिछाने
५ माघ, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा विद्यमान समस्या समाधानका लागि आफ्नो पार्टीलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।
रास्वपाद्वारा आज जनकपुरधाममा आयोजित परिर्वतन उद्घोषसभामा उहाँले देशको विकास गर्ने सङ्कल्पसहित आफ्नो पार्टी अगाडि बढेको भन्दै सबैको सहयोग तथा सद्भाव आवश्यक रहेको बताउनुभएको हो ।
सभापति लामिछानेले आफ्नो पार्टी परिर्वतनको वाहक भएको जिकिर गर्दै त्यसका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनमा बहुमतका साथ विजयी गराउन अपिल गर्नुभयो । “हामी देश विकासको सङ्कल्पसहित अगाडि आएका छौँ । आउँदो निर्वाचनमा पार्टीले सबैभन्दा बढी मत ल्याए त्यो पूरा गर्न सहज हुनेछ”, उहाँले भन्नुभयो ।

सभापति लामिछानेले आफूविरुद्ध विगतका सरकारले धेरै मुद्दा तथा आरोप लगाएको भन्दै देश तथा जनताको मुद्दा बोकेको मानिसलाई अन्य मुद्दासँग मतलब नभएको धारणा राख्नुभयो । देशको हितलाई केन्द्रमा राखेका कारण आफू र बालेन साह एकठाउँमा आएको उहाँको भनाइ थियो ।
सभापति लामिछानेले आफू बालेन साहसँगको सहकार्यले निकै उत्साहित भएका र यसमा साथ दिन सबैलाई अपिल गर्नुभयो । कार्यक्रममा पूर्वस्वतन्त्र सांसद डा अमरेशकुमार सिंह, मधेस प्रदेशसभाका निवर्तमान सदस्य रहवर अन्सारीलगायतलाई पार्टीमा स्वागत गरिएको थियो ।
प्रकाशित मिति : ५ माघ २०८२, सोमबार १९:४१









