४ माघ २०८२, आईतवार | Mon Jan 19 2026

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

४ माघ, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट जोगाउन मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताउनुभएको छ ।

नेता कोइरालाले आज यहाँ आफूनिकट नेता तथा कार्यकर्ताको भेलामा मध्यमार्ग र सत्यको बाटो अप्ठ्यारो हुने भन्दै आफूले मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताउनुभएको हो ।

“मध्यमार्ग र सत्यको बाटो गारो र अप्ठ्यारो हुन्छ, म सत्यको बाटो हिँडिरहेको छु, यसबाट विचलित हुन्न,” उहाँले भन्नुभयो, “पार्टी कठिन अवस्थामा रहेकाले मध्यमार्गी भूमिका निर्वाह गरी पार्टीलाई सङ्कटबाट जोगाउनुपर्ने आवश्यकता छ ।”

नेता डा कोइरालाले तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नभए पनि देश र लोकतन्त्र सङ्कटमा रहेकाले निर्वाचनमा जानुको विकल्प नरहेको धारणा राख्नुभयो ।  उहाँले नेता तथा कार्यकर्तालाई  पनि निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो ।

पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकाले आफूलाई अदालतको निर्णय मान्ने हुने नेता कोइरालाको भनाइ थियो ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार २१:१३