४ माघ २०८२, आईतवार | Sun Jan 18 2026

गाँजा खुलाउनुपर्छ भन्ने अभियन्ता शेरबहादुर तामाङ सिन्धुपाल्चोक २ मा एमाले उम्मेदवार

४ माघ, काठमाडाैँ । गाँजा खुलाउनुपर्छ भन्ने अभियन्ता शेरबहादुर तामाङ सिन्धुपाल्चोक २ मा एमाले उम्मेदवार हुनुभएको छ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले) का उम्मेदवार बन्नुभएको शेर बहादुर तामाङले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सुशासन र जनमुखी विकासलाई आफ्नो मूल एजेन्डा बनाएर चुनावी मैदानमा उत्रिने घोषणा समेत गर्नुभएको छ ।

एमालेबाट उम्मेदवारका रूपमा निर्णय भएपछि सार्वजनिक प्रतिबद्धता व्यक्त गर्दै तामाङले आफू निष्ठा, इमानदारी र नैतिकताको बलमा जनतासँग निरन्तर उभिने स्पष्ट पार्नुभयो । ‘यो जिम्मेवारी व्यक्तिगत उपलब्धि होइन, जनताको विश्वास, आशा र साझा सङ्कल्पको प्रतिबिम्ब हो,’ उहाँले भन्नुभयो, ‘जनताको आवाज सांसदसम्म पुर्‍याएर न्याय, सुशासन र विकासका लागि दृढतापूर्वक उभिन्छु ।’

उम्मेदवार तामाङले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यलाई व्यवहारमा उतार्न भ्रष्टाचार अन्त्य र सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुभएको छ । सबै सार्वजनिक पद धारण गर्नेहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन बनाउन पहल गर्ने, सबै सरकारी सेवा अनलाइन प्रणालीबाट सञ्चालन गर्ने, कमिसन नियन्त्रणका लागि कडा कानुन ल्याउने उहाँको घोषणा छ ।

त्यसैगरी उहाँले गाँजा खेतीको वैधानिकता, कोदोको रक्सीलाई ब्राण्डिङ गरी अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने, स्वास्थ्य बिमालाई शतप्रतिशत कार्यान्वयन गरी नागरिकको उपचार सुनिश्चित गर्ने र घरायसी प्रयोजनको विद्युत् निःशुल्क बनाउन संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ‘म भ्रष्टाचार गर्दिन, हुन पनि दिन्न-यो मेरो प्रतिबद्धता हो,’ तामाङले स्पष्ट पार्दै भन्नुभयो, ‘बरु जीवनमा भोकै मर्नेछु, तर जनता र देशको नाममा एक पैसा पनि भ्रष्टाचार गर्दिनँ ।’

अघिल्लो कार्यकालमा जनताको अपेक्षा शतप्रतिशत पूरा गर्न नसकेको स्वीकार गर्दै उहाँले सिन्धुपाल्चोकको शिर कहिल्यै निहुरिने काम नगरेको र भविष्यमा पनि नगर्ने दाबी गर्नुभयो । ‘निष्ठा, इमान, पारदर्शिता र जनताप्रतिको वफाकारिता नै मेरो राजनीतिक जीवनको मूल मन्त्र हो,’ उहाँको भनाइ छ ।

निष्ठाको राजनीति गर्ने एमालेका शालीन नेता तामाङले आफूलाई उम्मेदवार बनाउने पार्टी निर्णयप्रति एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलसहित सिङ्गो पार्टी नेतृत्वप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । साथै मतदाता, शुभेच्छुक, कार्यकर्ता र समर्थकहरूलाई साथ, सहयोग र सुझावका लागि अपिल गर्नुभएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १०:११