सुन किन्न नबिल बैंकले ऋण दिने, यी हुन आवश्यक कागजपत्र
२ माघ, काठमाडाैँ । नबिल बैंकले सुन किन्न ऋण दिने भएको छ । बैंकले सुनका गरगहना खरिदलाई सहज बनाउने उद्देश्यसहित ‘नबिल ढुक्का सुन खरिद कर्जा’ सुविधा सार्वजनिक गरेको छ।
‘नबिल ढुक्का सुन खरिद कर्जा’ शीर्षकमा बैंकले केही आकर्षक ब्याजदर र किस्ताबन्दीमा कर्जा सुविधा दिएको छ । यस कर्जामार्फत ग्राहकहरूले बैंकसँग आबद्ध दर्ता प्राप्त सुनचाँदी व्यवसायीहरूबाट मनपरेको सुन खरिद गर्न सक्नेछन्।

बैंकका अनुसार यस कर्जाअन्तर्गत खरिद गरिने गरगहनाको उचित बजार मूल्यको ७० प्रतिशतसम्म वित्तीय सुविधा प्रदान गरिनेछ । ग्राहकहरूले सुन अहिले नै खरिद गरी सहज मासिक किस्ताबन्दी (ईएमआई) प्रणालीमार्फत कर्जा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
कर्जा लिएर खरिद गरिएको सुन कर्जाको धितोका रूपमा बैंकमा सुरक्षित राखिने र कर्जा पूर्ण रूपमा चुक्ता भएपछि सम्बन्धित ग्राहकलाई फिर्ता गरिनेछ। यस कर्जा सुविधामा अधिकतम १० लाख रुपैयाँसम्म कर्जा लिन सकिनेछ भने १० वर्षसम्मको लचिलो कर्जा अवधि उपलब्ध गराइएको छ।
नबिल बैंकले यस सुविधा सुन खरिदलाई सुरक्षित, सरल र सर्वसुलभ बनाउने उद्देश्यले ल्याइएको जनाएको छ । बैंकका अनुसार यो कर्जा योजना विशेष गरी विवाह, चाडपर्व तथा दीर्घकालीन लगानीका लागि सुन खरिद गर्न चाहने ग्राहकहरूका लागि उपयोगी हुने अपेक्षा गरिएको छ । यो कर्जामा नि:शुल्क बीमा समेत समेटिएको छ ।
कर्जा प्रवाह हुने शाखाहरू
नबिल बैंकको काठमाडाैँ उपत्यका भित्रको नयाँ सडक (न्यूरोड) र कोटेश्वर शाखाबाट यस सुविधा प्राप्त गर्न सकिने छ । काठमाडाैँ उपत्यकाबाहिर रूपन्देहीको बुटवल-योगिकुटी, कास्कीको पोखरा चिप्लेढुङ्गा, बाँकेको नेपालगञ्ज-भानुभक्त चौक, चितवनको नारायणगढ-मिलन रोडमा रहेको शाखाबाट यस सेवा उपलब्ध हुनेछ ।
चाहिने कागजपत्र
यो कर्जा लिनका लागि आवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, आवेदकको तस्बिर (फोटो), दर्ता गरिएका गहना पसलको कोटेशन र सुनका गहनाको बीजक ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार ०७:४४









