२९ पुष २०८२, मंगलवार | Wed Jan 14 2026

गगन र विश्वको बार्गेनिङको नतिजा पर्खिदाँ कांग्रेस विशेष महाधिवेशनको निर्वाचन सर्यो

२९ पुस, काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा भएको विशेष महाधिवेशनको बन्दसत्र दुई प्रतिवेदन पारित गर्दै आज सम्पन्न भएको छ ।

यही पुस २७ र २८ गतेका लागि आह्वान भएको विशेष महाधिवेशनको बन्दसत्र पुस २८ गतेदेखि सुरु भएको थियो । आज साँझसम्म सञ्चालन भएको बन्दसत्र महामन्त्री गगनकुमार थापाको समसामयिक राजनीतिक प्रतिवेदन र महामन्त्री विश्वप्रकाश शर्माको साङ्गठनिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको हो ।

यसैगरी बन्दसत्रबाट आजै गठन गरिएको केन्द्रीय निर्वाचन समितिले नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो । उक्त तालिकाअनुसार बाँकी रहेको उम्मेदवारी मनोनयन दर्ताको समय परिवर्तन गरी बुधबार बिहान ८ः०० बजेदेखि ९ः०० बजेसम्मका लागि निर्धारण गरिएको समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयो ।

महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको तर्फबाट सभापति शेरबहादुर देउवा समूहसँगको बार्गेनिङको नतिजामा ढिलाइ हुँदा निर्वाचन सरेको कांग्रेस नेताहरूले जनाएका छन । मागे अनुसार टिकट वितरणमा हस्ताक्षर चल्ने र भने जति सिटमा गुटका उम्मेदवार लडाउन पाउने अवस्थामा गगन र विश्वले महाधिवेशनको निर्वाचन कार्यक्रम नै कोल्याप्स हानेर देउवा समूहसँग प्याकअप गर्ने सम्भावना रहेको छ ।

यता बन्द सत्रको प्रस्ताव पारित हुँदै गर्दा महामन्त्री थापाले अब कुनै पनि निर्णयहरू महाधिवेशनको हल भन्दा बाहिरबाट नहुने बताउनुभएको छ । उहाँले बाहिर चलिरहेको सहमतिको हल्ला थप जटिल बनेको स्पष्ट संकेत गर्नुभएको छ ।

महामन्त्री नै रहनुभएको शर्माले गगनलाई कांग्रेसको भावी नेतृत्व र भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्नुभएको छ । उहाँले पार्टी नवीन उर्जा लिएर आउने पनि उद्घोष गर्नुभएको छ । शर्माले छोटो समयका लागि नेतृत्व हाँक्ने र त्यसपछि नियमित महाधिवेशन गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २९ पुष २०८२, मंगलवार २३:५३