२९ पुष २०८२, मंगलवार | Tue Jan 13 2026

रातभरिमा सहमतिको विन्दुमा पुग्छौँः नेता घिमिरे

२९ पुस, काठमाडौँ । नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टीमा पछिल्लो समय देखिएको विवाद समाधानका लागि नेताहरूबीच छलफल र वार्ता सकारात्मक रूपमा अघि बढेको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुनुअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले पार्टीका नेताबीच विवाद समाधानका लागि छलफल जारी रहेको जानकारी दिनुभयो । पार्टीको निवर्तमान प्रमुख सचेतकसमेत रहेका घिमिरेले भन्नुभयो, “वार्ता चलिरहेको छ, वार्ताले एउटा आकार लिन्छ भन्नेमा हामी विश्वस्त छौँ । आज रातभरिमा एउटा सहमतिको विन्दुमा पुग्छौँ, भोलि पार्टीलाई एक भएर अगाडि बढाउँछौँ ।”

वार्ता प्रक्रिया चलिरेहका कारण केन्द्रीय समितिको बैठक समयमै सुरु हुन नसकेको उहाँको भनाइ छ । दिउँसो १ः०० बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक यो समाचार तयार गर्दासम्म सुरु हुन सकेको छैन ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौँको भृकुटीमण्डपमा यही पुस २७ गतेदेखि आयोजना गरेको विशेष महाधिवेशनको बन्दसत्र अझै जारी छ ।

प्रकाशित मिति : २९ पुष २०८२, मंगलवार १८:५३