कांग्रेस विशेष महाधिवेशन : पुरानै विधानअनुसार निर्वाचन हुने
२९ पुस, काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले पार्टीको पुरानै विधानअनुसार निर्वाचन गर्ने भएको छ ।
नेपाली कांग्रेस विशेष महाधिवेशनद्वारा गठन गरेको निर्वाचन समितिले आज पत्रकार सम्मेलन गरी पार्टीको पुरानो विधानअनुसार निर्वाचन गर्न लागेको जानकारी दिएको हो ।
पार्टीको पुरानो विधानअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्यको निर्वाचन हुने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयो ।
विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समिति रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा समिति गठन गरेको थियो ।
निर्वाचन समितिका संयोजक केसीले मध्याह्न २ः०० देखि ३ः०० बजेसम्म उम्मेदवार मनोनयनको कार्यक्रम रहेको जानकारी दिनुभयो । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि छन् ।
प्रकाशित मिति : २९ पुष २०८२, मंगलवार १५:१६









