२० माघ २०८२, मंगलवार | Tue Feb 3 2026

प्रतिशोध र हिंसाबाट बचाएर निर्वाचनलाई सफल बनाउन आवश्यक छः गृहमन्त्री अर्याल

२४ पुस, ललितपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नेपाल मानव अधिकार संगठन (हुरोन)को संयुक्त आयोजनामा लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न पुस २४ गते काठमाडौँमा सम्पन्न भएको छ ।

कार्यक्रमका सहभागीहरुले लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरणका लागी आवधिक निर्वाचन अपरीहार्य रहेकोमा जोड दिए । गृह मन्त्री माननीय ओमप्रकाश अर्यालले स्वच्छ निर्वाचनका लागि भयरहीत वातावरण आवश्यक पर्ने उल्लेख गर्दै जेनजी आन्दोलन पछि देशलाई प्रतिशोध र हिंसाबाट बचाएर निर्वाचन उन्मुख वातावरण बनाउदै राजनीतिक सुशासनका लागि नवयुवा पुस्ताको राजनीतिक सहभागिता आवश्यक रहेको बताउनुभयो ।

“मानवअधिकार र पीडितको पक्षमा सँधै लाग्नेछु । दण्डहिनताका पक्षमा म छैन, मुलुक कालोसूचीमा पर्ने गरी दण्डहीनतालाई प्रश्रय दिइँदैन,”गृहमन्त्री अर्यालले भन्नुभयो ।
निर्वाचनसँग सम्न्धित सुरक्षा व्यवस्थाका लागी सरकारले आवश्यक सबै व्यवस्था गर्ने प्रतिबद्धता जनाउदै उहाँले जेनजी पुस्तालाई भोट हाल्न पाउने र राज्यको मूल धारमा आउने वातावरण बनाइएको बताउनु भयो ।

गृहमन्त्री अर्यालले आन्दोलनरत पक्षको भावनालाई समर्थन गर्दै लोकतन्त्र, मानव अधिकार र निर्वाचन प्रति नेपाल सरकार सचेत रहेको बताउनु भयो । उहाँले सुशासनको अनुभूतीका लागि नागरिक सरकार र सुरक्षा निकायको मनोबल बढ्ने काममा सबै पक्षले सहयोग गर्न आवश्यक रहेको बताउदै वर्तमान सरकारका निर्णय, नियुक्तिलगायतका विषयमा भएको पारदर्शीलाई अब बन्ने सरकारले समेत जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा इन्सेकका अध्यक्ष विजयराज गौतमले इन्सेक र हुरोनको देशैभरी सञ्जाल रहेको स्मरण गर्दै निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचन पछिको समेत पर्यवेक्षण गरी स्वच्छ र भयरहीत निर्वाचन भए नभएको सन्दर्भमा तटस्थ भूमिका खेल्ने धारणा राख्नुभयो ।

जेनजी अगुवा लुज महर्जनले सामाजिक सञ्जालले भए नभएका विषयलाई प्राथमिकता दिइ भ्युज बढाउने काम मात्र गरेको उल्लेख गर्दै सरकारको अस्थिरताका कारण देशको अपेक्षाकृत विकास हुन नसकेको धारणा राख्नुभयो । नेपालको विकास र समृद्धिका लागि स्थिर सरकारको खाँचो औंल्याउदै जेनजीहरुको धारणा सबैमा समान नभएको बताउनु भयो ।

जेनजी प्रतिनिधि उपमा पोखरेलले लोकतन्त्रको रक्षाका लागि निर्वाचनमा पुरष सरह समान महिला सहभागिता हुनु पर्नेमा जोड दिनुभयो । जेनजी प्रतिनिधि प्रशान्त पौडेलले लोकतन्त्रको पहिलो सर्त भनेकै जनसहभागिताबाट निर्वाचन हुनु पर्ने उल्लेख गर्दै निर्वाचन सफल बनाउन सबैको सक्रियता हुनु पर्नेमा नागरिक समाज र मानव अधिकार कर्मीहरुको सकृय सहभागिता नदेखिएको बताउनु भयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले जेनजी आन्दोलनमा सञ्चारकर्मी र सञ्चारगृहमा १८ करोडको क्षती भएको, सन् २०२५ मा २ सय १८ जना पत्रकारले स्वतन्त्ररुपमा समाचार लेख्न नपाएको स्मरण गर्दै सामाजिक सञ्जालमा हुने मिस इन्फर्मेसन र डिस इन्फर्मेसनले निर्वाचनलाई असर पार्न सक्ने धारणा राख्नु भयो ।

मानव अधिकारकर्मी चरणप्रसाईले राजनीतिक दलहरुले निर्वाचनको वातावरण नभएको गुनासो गरेकोे स्मरण गर्दै ०६२÷०६३ सालको परिवर्तन पछिको अवस्था जस्तै नेपाली कांग्रेस र नेकपा एमालेलाई निर्धक्क भएर निर्वाचनमा सहभागि हुन थप विश्वस्त बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले सरकारले जेनजी आन्दोलनबाट गठित सरकारलाई नागरिक अधिकारकर्मीहरुले सहजै भेट्न सक्ने अवस्था समेत नभएको गुनासो गर्दै निर्वाचनका लागि उपयुक्त वातावरण तयार गर्न नसकेकोमा गृहमन्त्रीको ध्यानाकर्षण गर्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि माया शर्माले लोकतन्त्र र मानव अधिकारको सुनिश्चितता सँगै स्वच्छ र भयरीत वातावरणमा निर्वाचन हुने उल्लेख गर्दै निर्वाचन पर्यवेक्षकहरु र सञ्चारकर्मीहरुले समेत मतदान स्थलमा अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवती महिलाहरुमैत्री मतलान केन्द« भए नभएको अनुगमन गरी ती विषयमा नेपाल सरकार र निर्वाचन आयोगलाई सुझाव र सिफारिस गर्नुपर्नेमा जोड दिनुभयो ।

मानव अधिकारकर्मी भवानी खरेलले पञ्चायती र बहुदलीय व्यवस्थाका साथै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्म आइपुग्दा विभिन्न कालखण्डमा भएका निर्वाचनलाई हेर्दा मतदाताहरुले भयरहीत वातावरणमा मतदान गर्ने वातावरण सिर्जना हुनु पर्ने खाँचो औंल्याउदै द्वन्द्वकालदेखि जेनजी आन्दोलनको समयमा खोसिएका हतियारका सूचना पाएमा सरकारी निकायलाई खबर गर्नु नागरिक दायित्व भएको बताउनुभयो ।

सहभागी गोपालबहादुर शाहले सशस्त्र द्वन्द्वकालका हतियार तथा बिस्फोटक पदार्थहरु कतिपय स्थानमा पाइएको उल्लेख गर्दै जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीका खोसिएका हतियारहरु समेत फिर्ता हुन नसकका्ेले अहिलेको अवस्थामा निर्वाचन के कसरी हुन्छ भन्ने आशंका व्यक्त गर्नुभयो ।

कार्यक्रमका सहभागीहरुले जेनजी आन्दोलका क्रममा भएका क्षतिसँगै गठित सरकारले निर्वाचनका लागि उपयुक्त वातावरण सिर्जना गर्न बाँकी रहेको सन्दर्भमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १९:११