ग्रिनल्यान्डबारे ट्रम्पको भनाइमा युरोपको कडा आपत्ति
२२ पुस, बर्लिन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई संयुक्त राज्य अमेरिकाले अधिग्रहण गर्नुपर्ने भनी दिएको अभिव्यक्तिप्रति युरोपेली नेताहरूले कडा असहमति जनाएका छन् । उनीहरूले रणनीतिक तथा खनिज–सम्पन्न आर्कटिक टापु ग्रिनल्यान्ड त्यहाँका जनताको स्वामित्वमा रहेको पुनः स्पष्ट गरेका छन् ।
फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, स्पेन र संयुक्त अधिराज्यका नेताहरूले डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनसँग ऐक्यबद्धता जनाउँदै डेनमार्क राज्यअन्तर्गतको स्वशासित क्षेत्र ग्रिनल्यान्डको सार्वभौमिकताको दृढतापूर्वक रक्षा गर्नुपर्नेमा जोड दिनुभएको छ । ट्रम्पको हालैको टिप्पणीपछि युरोपेली नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै ग्रिनल्यान्ड कुनै पनि बाह्य शक्तिको अधिग्रहणको विषय हुन नसक्ने बताएका छन् ।
यसैबीच, ह्वाइट हाउसका स्टाफका उपप्रमुख स्टिफन मिलरले सोमबार ग्रिनल्यान्ड संयुक्त राज्य अमेरिकाको हिस्सा हुनुपर्ने धारणा दोहोर्याउनुभयो । उहाँले राष्ट्रपति ट्रम्प यस विषयमा महिनौँदेखि स्पष्ट रहँदै आएको बताउनुभयो । सिएनएनसँगको अन्तर्वार्तामा मिलरले ग्रिनल्यान्डलाई अमेरिकाको समग्र सुरक्षा संरचनाको महत्त्वपूर्ण अङ्गका रूपमा राष्ट्रपति हेर्ने गरेको उल्लेख गर्नुभयो ।
तर डेनमार्ककी प्रधानमन्त्री फ्रेडरिक्सनले यसअघि नै ग्रिनल्यान्डमाथि अमेरिकी अधिग्रहणको प्रयास नाटो सैन्य गठबन्धनको अन्त्य सरह हुने चेतावनी दिनुभएको थियो । उहाँका अनुसार यस्तो कदमले युरोप र अमेरिका बीचको दीर्घकालीन सुरक्षा सहकार्यमा गम्भीर असर पार्न सक्छ ।
डेनमार्कका नेताहरू, ग्रिनल्यान्डका प्रधानमन्त्री तथा अन्य युरोपेली नेताहरूले सप्ताहन्तमा भेनेजुएलामा भएको अमेरिकी सैन्य कारबाहीपछिको पृष्ठभूमिमा ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकी नियन्त्रणमा ल्याउने नयाँ आह्वान गरेपछि त्यसलाई एक स्वरमा अस्वीकार गरेका हुन् । उनीहरूको भनाइमा ग्रिनल्यान्डको भविष्य त्यहाँका जनताले नै तय गर्ने अधिकार राख्दछन् र त्यसमा बाह्य दबाब स्वीकार्य हुन सक्दैन ।
युरोपेली नेताहरूले ग्रिनल्यान्डको रणनीतिक महत्त्व स्वीकार गरे पनि त्यसको सार्वभौमिकता र स्वशासनको सम्मान अन्तर्राष्ट्रिय नियम र साझेदारीको आधार भएको स्पष्ट पार्दै यस विषयमा आफ्नो अडानबाट पछि नहट्ने सङ्केत दिएका छन् ।
प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार १९:३७








