पुस २९ गतेदेखि आईपीओ निष्काशन गर्दै सोलु हाइड्रोपावर
२० पुस, काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले पुस २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १ करोड कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको छ। त्यस्तै, कम्पनीले १० लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
कम्पनीले ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ८२ करोड रुपैयाँबराबरको ८२ लाख कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा माघ ४ गते हुनेछ भने ढिलोमा माघ १४ गते हुनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड तथा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : २० पुष २०८२, आईतवार ०९:४१








