लिबर्टी माइक्रो लाईफ इन्स्योरेन्स चौथो वर्षमा, विभिन्न सामाजिक कार्य सम्पन्न
१७ पुस, काठमाडौं । लिबर्टी माइक्रो लाईफ इन्स्योरेन्सले आफ्नो व्यावसायिक यात्राको तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । २०८२ पुस १७ गते कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सव एक विशेष समारोहका साथ मनाएको हो ।
यस अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्वसँग जोड्दै देशका विभिन्न भागमा मानवीय सेवा र राहतका कार्यक्रमहरू सम्पन्न गरेको जनाएको छ ।
लघु जीवन बीमाका लक्षित वर्गमा बीमा सचेतना फैलाउने र समुदायसँगको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले काठमाडौंको रानीवनस्थित मानव सेवा आश्रमका २१६ जनालाई भोजन तथा फलफूल वितरण गरिएको कम्पनीले जनाएको छ ।
त्यसैगरी कोशी प्रदेशको बूढिगंगास्थित मधुग्राम देवता आधारभूत विद्यालय, नेपालगञ्जको छत्रवास अनाथाश्रम र गैंडाकोटको बालविकास केन्द्रमा न्यानो लुगा वितरण गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले शिक्षा र कृषि क्षेत्रलाई पनि प्राथमिकता दिँदै पोखराको कुँडाहार आधारभूत विद्यालयमा जुत्ता–मोजा, पर्वतको हिमालय माध्यमिक विद्यालयमा शैक्षिक सामग्री र लमजुङका न्यून आय भएका कृषकहरूलाई बीउबिजन वितरण गरेको छ ।
त्यस्तै, सुर्खेतमा भोजन वितरण तथा धनगढी र कञ्चनपुरका विद्यालयहरूमा स्कुल ब्याग लगायतका शैक्षिक सामग्री वितरण गरी वार्षिकोत्सव मनाइएको छ ।
आगामी दिनमा लघु जीवन बीमा सेवालाई अझ बढी प्रविधिमैत्री र सरल बनाउँदै लक्षित वर्गमा सरल, सुलभ र ग्राहक मैत्री सेवा पुर्याउने कम्पनीले अठोट लिएको छ । व्यावसायिक वृद्धि मार्फत ग्राहक तथा लगानीकर्ताको अपेक्षा पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको कम्पनीले उल्लेख गरेको छ ।
प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार १७:२१












